• ४ वैशाख २०८१, मङ्गलबार

गाभिँदै बीमा कम्पनी

blog

काठमाडौँ, वैशाख ३० गते । बीमा कम्पनीबीच पनि गाभ्ने र गाभिने (मर्जर) प्रक्रिया सुरु भएको छ । नियमक निकाय बीमा समितिले बीमा कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि मर्जरमा जान थालेका हुन् । बिहीबार तीनवटा जीवन बीमा कम्पनीले गाभिनेसम्बन्धी सम्झौता गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सले एकआपसमा गाभिने/गाभ्ने सम्झौता गरेका हुन् ।

सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा प्राइमका अध्यक्ष पीयूषराज अर्याल, गुराँसका अध्यक्ष विवेक दुगड र युनियन लाइफ इन्स्योरेन्सका सुलभ अग्रवालले हस्ताक्षर गर्नुभएको हो । यो जीवन बीमा कम्पनीको पहिलो मर्जर प्रयास भएको युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले जानकारी दिनुभयो ।

हाल प्राइम लाइफको चुक्ता पुँजी दुई अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपियाँ, गुराँस लाइफको दुई अर्ब आठ करोड ४२ लाख ५० हजार रुपियाँ रहेको छ भने युनियन लाइफको दुई अर्ब १५ करोड रुपियाँ रहेको छ । तीनवटै कम्पनीले एक बराबर एकको अनुपातमा सेयर आदानप्रदान गरेको खण्डमा मर्जर भएपछि चुक्ता पुँजी सात अर्ब एक करोड ३८ लाख ६६ हजार रुपियाँ हुने भएको छ । तीन कम्पनी मर्जरपछि नेपाल लाइफपछि दोस्रो ठूलो चुक्ता पुँजी भएको कम्पनी बन्ने भएका छन् ।

स्वाप रेसियो डीडीए भ्यालुएसनपछि गरिने जनाइएको छ । अबको एक हप्तापछि एक्चुरी भ्यालुएसनको टिम नेपाल ल्याएर एक्चुरीको काम सम्पन्न गराएर स्वाप रेसियो तय गर्नेगरी अहिले प्रारम्भिक सम्झौता गरिएको छ । बीमा समितिले दिएको निर्देशनअनुसार तीन कम्पनीले मर्जर सम्झौता गर्ने निर्णय गरेका हुन् ।

बीमा क्षेत्रको पहिलो मर्जरमा एभरेस्ट र हिमालयन

समग्र बीमा क्षेत्रको पहिलो मर्जरका रूपमा हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स कम्पनीले प्रक्रिया सुरु गरिसकेका छन् । दुवै कम्पनीले एकअर्कामा मर्ज हुनका लागि एक साताअघि सम्झौता गरेका हुन् । बीमा समितिले चुक्ता पुँजी बढाउने निर्णय गरेर कम्पनीलाई मर्जरमा जान परोक्ष रूपमा दबाब दिइरहेका बेला यी बीमा कम्पनी मर्जरमा जाने निर्णयमा पुगेका हुन् । 

बीमा समितिले पनि दुवै कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । समितिले बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा निर्देशिका २०७६ को दफा ६ बमोजिम दुई बीमकलाई एक आपसमा गाभ्न÷गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको हो । बीमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ताको नियुक्ति गरी समितिलाई विवरण पेस गर्न पनि समितिले निर्देशन दिएको हो ।


Author

भेषराज बेल्बासे