• ११ असोज २०८१, शुक्रबार

जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज, १० गते । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट जिल्लाको गोरखा नगरपालिका–१२ दशकिलोकी ३४ वर्षीया राधिका कुमालको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज चितवनले जनाए अनुसार भदौ २५ गते जापनिज इन्सेफ्लाइटिस रोग लागेर उहाँको १५ दिनपछि मृत्यु भएको हो ।

गत भदौ २५ गते जिल्ला अस्पताल गोरखामा उपचारपछि फेरि थप उपचारका लागि उहाँलाई चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान ८ बजे अस्पतालले मृतक घोषण गरेको मृतक राधिका कुमालका पति सरोज कुमालले बताउनुभयो । 

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको सक्रमणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माको भनाइ छ । 

लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापनिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन । जापनिज इन्सेफ्लाइटिस रोग लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म रोगको लक्षण देखापर्ने स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माले बताउनुभयो ।

यो रोग लागेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी कडा हुने, पक्षघात हुने यस रोगका लक्षण भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त रोगबाट बच्न झुल टाँगेर सुत्न, सुँगुर हाँस र कुखुरालाई घरभन्दा टाढा पाल्न, खेतबारीमा काम गर्दा लामो कपडा लगाउन र घर वरिपरिको रहेका खाल्डाखुल्डी हुन नदिने यसरोगबाट बच्ने प्रमुख उपाय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।