• ५ जेठ २०८१, शनिबार

सबै मतदातालाई नयाँ परिचयपत्र

blog

मुसीकोट समाचारदाता

रुकुम पश्चिम, वैशाख ३० गते । रुकुम पश्चिमका सबै मतदातालाई नयाँ परिचयपत्र वितरण गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिममा नयाँ मतदाता परिचयपत्र वितरण सुरु भएको हो । अन्यत्र जिल्लामा नयाँ तथा परिचयपत्र पाउन बाँकी मतदाताले मात्र परिचयपत्र पाउने भए पनि रुकुम पश्चिममा भने यसअघि वितरण भएको परिचयपत्रमा नागरिकता जारी भएको जिल्ला फरक हुन गएकाले सबै मतदाताले नयाँ परिचयपत्र पाउने भएका हुन् ।

रुकुम जिल्ला विभाजन भएर रुकुम पश्चिम र रुकुम पूर्व बनेपछि अघिल्लो पटकको निर्वाचनका मतदाताको नामावलीमा त्रुटि भई नागरिकता जारी भएकाले जिल्ला फरक हुन गएकाले यसपटक सबै मतदाताका लागि नयाँ परिचयपत्र बनेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी कुमारीरिमा मल्लले जानकारी दिनुभयो ।

सबै मतदाताले आ–आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन सक्ने उहाँले बताउनुभयो । मतदाता नामावली भएका तर परिचयपत्र नभएकाले पनि नागरिकता देखाएर मत हाल्न पाइने व्यवस्था रहेको भए पनि सकभर सबैले परिचयपत्र लिएमा सजिलो हुने जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो । बुधबार र बिहीबार जिल्लाका १३९ वटै मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्न थालिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

रुकुम पश्चिममा कुल एक लाख चार हजार ४८२ जना मतदाता छन् । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि ७६ मतदान स्थल र १३९ वटा मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले १९ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेको बताउनुभयो । जिल्ला सुरक्षा समितिले जिल्लाभरका सबै मतदान स्थललाई वर्गीकरण गर्दा १९ वटा मतदान स्थल अति संवेदनशील, ४५ वटा संवेदनशील र १२ वटा मतदान स्थल सामान्य सूचीमा रहेका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । वर्गीकरणका आधारमा सुरक्षा व्यवस्थासहित अन्य व्यवस्था मिलाइएको जानकारी घिमिरेले दिनुभयो ।