• ३ जेठ २०७९, मङ्गलबार

भविष्य निर्माणको अवसर

blog

पाँच वर्षको प्रतीक्षापछि फेरि स्थानीय तहका पदाधिकारी चयनका लागि मुलुकभरका उत्साही मतदाताहरूले आज मतदान गरिरहेका छन् । यसअघि वि.सं. २०७४ मा स्थानीय निर्वाचनपछि यो निर्वाचन हुँदैछ । लोकतन्त्रमा आवधिक निर्वाचनको महत्त्व सर्वोपरि रहेको सन्दर्भमा स्थानीय तहको निर्वाचनको विशिष्ट अर्थ रहेको हुन्छ ।

स्थानीय जनतासँग प्रत्यक्ष रूपमा गाँसिने वा सम्बन्धित हुने हुनाले यसलाई प्रदेश वा सङ्घ निर्वाचनको आधारका रूपमा पनि लिन सकिन्छ । यी दुवै तहका निर्वाचन यसै वर्षको अन्तिमतिर हुने सम्भावना बढी छ । निर्वाचनलाई स्वच्छ बनाउन भगीरथ प्रयास गरिएको छ । यस पटकको स्थानीय निर्वाचनमा विगतका कमीकमजोरी दोहोरिन नदिन पनि विभिन्न उपाय अवलम्बन गरिएको  छ । मतदान सामग्री व्यवस्थापन, सुरक्षा प्रबन्धका साथै अन्य प्रशासनिक कार्यको उपयुक्त प्रबन्धले निर्वाचनका आधारभूत विषयहरूमा निकै राम्रो तयारी भएको छ ।

निर्वाचनको सफलताको मार्ग प्रशस्त गर्ने कार्यमा यी पक्ष निकै महìवपूर्ण हुन्छन् । सेनासहित लाखौँ सङ्ख्यामा खटाइएका सुरक्षाकर्मीका तीन घेराले निर्वाचनलाई सुरक्षित तथा धाँधलीरहित हुने विषयमा प्रत्याभूत गरेकोमा कुनै शङ्का छैन । यसैगरी च्यात्न वा टोक्न नमिल्ने मतपत्रका कारण अघिल्लो निर्वाचनको जस्तो झै–झमेलाको स्थिति आइपर्ने सम्भावना छैन । यस्तै लाखौँ सङ्ख्या खटाइएका प्रशासनिक कर्मचारीका कारण पनि निर्वाचनलाई सहज ढङ्गबाट सञ्चालन गर्ने आधार प्रदान गरेको छ । 

यो निर्वाचनमा आममतदाताको उत्साह एवं उमङ्ग निकै उत्साहप्रद देखिन्छ । यसै निर्वाचनमा मतदान गर्नैका खातिर आन्तरिक वा बाह्य प्रवासमा रहेका नेपालीहरूको आफ्ना गाउँ ठाउँ फर्किने क्रमले निकै गति पाएको छ । नाकामा आफ्नो जन्मथलो फर्किनेहरूका लामो ताँतीले पनि यही तथ्यलाई प्रमाणित गरिरहेको छ । राजधानी उपत्यकाबाट घर फर्किनेको समेत व्यापकता देखिएको छ ।

एक तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाबाट मात्र यस निर्वाचनमा मतदान गर्न लगभग दस लाख मानिसले राजधानी छोडिसकेको अनुमान गरिएको छ । दैनिक हजारौंका सङ्ख्यामा यात्रुवाहक सवारीसाधन राजधानीबाट बाहिर जानुका साथै प्रवेश पनि गरिरहेको प्रहरीको तथ्याङ्क छ । टाढासम्म जाने यात्रु बिहीबार बिहानसम्म पनि राजधानी छोडिरहेका थिए भने भारतलगायतका स्थानबाट आउने नेपालीहरूको सङ्ख्या पनि निकै उच्च रहेको थियो । 

सरकार, निर्वाचन आयोगलगायत निर्वाचनसम्बद्ध निकायहरूले निर्वाचन गतिविधिलाई उच्च महत्त्व दिइरहकै अनुपातमा मतदाताहरूको उत्साहले पनि यस पटकको निर्वाचनमा जनसहभागिता निकै उच्च रहने अनुमान गर्न कठिन छैन । यसलाई लोकतान्त्रिक मूल्य, मान्यताप्रति जनताको आस्था एवं विश्वासका रूपमा बुझ्नु वाञ्छनीय हुन्छ ।

यस दृष्टिकोणबाट जनताको निर्वाचनप्रतिको सहभागितालाई सम्मान गर्नैपर्छ र यो नै निर्वाचनको उच्चतम सफलता हो । निर्वाचनप्रति जनसक्रियताले नेपालमा लोकतन्त्रको सुदृढ एवं सुमधुर भविष्यलाई समेत औंल्याएको छ । मतदानलाई सरल बनाउन निर्वाचन आयोगको प्रयास असाध्यै सकारात्मक छ । मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा लालपूर्जाजस्ता व्यक्तिको तस्वीर रहेका कागजातका आधारमा पनि मतदान गर्न सम्भव बनाइएको छ ।

यसबाट पनि बिना झन्झट सम्बन्धित वास्तविक मतदाताले मतदान गर्न सक्षम हुनेछन् । निर्वाचनमा अधिकतम सहभागिताका लागि यो एक सबल पक्षका रूपमा पनि लिन सकिन्छ । यसबाट मतदानमा जनसहभागिता पक्कै पनि बढ्नेछ । यसैगरी समय परिस्थिति हेरेर देशभर मतदान स्थलहरूको सङ्ख्या पनि बढोत्तरी गरिएको छ । यसबाट मतदाताहरूलाई मतदान गर्न पक्कै पनि सहज हुनेछ । 

कोरोनाको उच्च सङ्क्रमणका बेला सर्वसाधारणलाई पैतृक घर जान यातायातको व्यवस्था गर्न आनाकानी गर्ने दलहरू अहिले मतको राजनीतिका लागि यिनै सर्वसाधारणलाई घर पु-याउन तछाडमछाड गरिरहेका अवस्था पनि देखिएको छ । कोरोना कालमा बेवास्ता गर्नेहरूलाई जनताले पक्कै पनि राजनीतिक कठघरामा उभ्याएर विवेकसम्मत तवरले न्यायनिसाफ गर्ने नै छन् ।

दलहरूले जनताको महत्व बुझ्ने बेला पनि यही हो । राष्ट्रको ठूलो मात्रामा धनजनको उपयोग गरेको भइरहेको स्थानीय निर्वाचनलाई सफल पार्नु नै सबै नेपाली नागरिकको कर्तव्य हो । कुनै मोलाहिजामा नलागी निष्पक्ष तथा विकासप्रेमी उम्मेदवारलाई आफ्नो गाउँटाउँको विकासको जिम्मा दिई भविष्य निर्माणको स्वर्ण अवसर पनि यही हो । अहिले विवेकसम्मत निर्णय नलिए पाँच वर्षसम्म पछुताउनुपर्ने हुन सक्छ । आशा गरौँ, यो अवस्था कसैले भोग्नु नपरोस् ।