• ११ असोज २०८१, शुक्रबार

कला साहित्य समुद्र जत्तिकै गहिरो : पूर्वराष्ट्रपति यादव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । पूर्वराष्ट्रपति रामवरण यादवले साहित्य, नाट्य, सङ्गीत, कलाले संस्कृति समुद्र जत्तिकै गहिरो र फराकिलो अर्थ राख्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति यादवले नेपाल नाट्य प्रतिष्ठान पोखराद्वारा आइतबार राजधानीमा आयोजित ‘नेपाली नाट्यविमर्श’ पुस्तक सार्वजनिक कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले नेपाली नाटक रङ्गमञ्चको ऐतिहासिक अवस्थादेखि वर्तमानसम्मका नाटक, लेखक, कलाकारको समूह र भारतका नेपालीभाषी लेखकले लेखेका नाटकसमेतको अभिलेखीकरण गरिएको सो पुस्तकले विश्वभर फैलिरहेको नेपाली डायस्पोरालाई प्रेरित गर्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले नेपाल नाट्य प्रतिष्ठान भर्खरै स्थापना भए पनि ‘नेपाली नाट्यविमर्श’ पुस्तक प्रकाशन गरेर नेपाली नाट्य क्षेत्रको अभिलेखीकरण जस्तो स्तुत्य कर्म गरेको बताउनुभयो । प्राडा दयाराम श्रेष्ठले ‘नेपाली नाट्यविमर्श’ पुस्तकलाई नाट्य वेदान्त मान्न सकिने चर्चा गर्दै यस पुस्तकमा समग्र नाट्य विधा केन्द्रित रहेको टिप्पणी गर्नुभयो ।

उहाँले पुस्तकमा समेटिएका नाटकका विषयले नाटकका क्षेत्रमा अध्ययन अनुसन्धान गर्न चाहने लेखक तथा शोधार्थीका साथै साहित्यप्रेमीका लागि गहकिलो र प्रबुद्ध प्रसाद पुस्तकका रूपमा प्रकाशित भएको बताउनुभयो । सो अवसरमा रङ्गकर्मी अशेष मल्ल, शकुन्तला शर्मा गुरुङ, सुनील पोखरेल र डा. माधव बराललाई सम्मान गरिएको थियो । रङ्गकर्मी अशेष मल्ल विसं २०३० देखि हालसम्मै नेपाली नाट्य क्षेत्रको उत्थानका लागि सक्रिय हुनुहुन्छ । किशोरावस्थादेखि नै नाट्य लेखन, निर्देशन, प्रशिक्षण र अभिनयका साथै सर्वनाम थिएटरमार्फत नेपाली नाटक जगत्का लागि समर्पित भएबापत मल्ललाई सम्मान गरिएको हो । 

११ वर्षको उमेरमा २०१९ देखि अभिनय कर्ममा सक्रिय शकुन्तला शर्मा गुरुङले २०७० सम्मै रङ्गकर्मलाई निरन्तरता दिनुभएको थियो । नाट्यकर्मी सुनील पोखरलले नेपाल प्रज्ञा–प्रतिष्ठानको नाट्य शाखाबाट कलाकारका रूपमा रङ्गमञ्चमा प्रवेश गर्नुभएको थियो । सर्वनाम थिएटरमा नाटक अभिनयदेखि निर्देशन सहयोगीको भूमिकामा रहँदै छुट्टै आफ्नै पहलमा आरोहण गुरुकुल स्थापनाको दौरानमा उहाँको यात्रा नेपाली रङ्गमञ्चमा छुट्टै छाप छोड्न सफल छ । 

डा. माधव बराल, नेपाली विज्ञान शिक्षा क्षेत्रमा थुप्रै योगदान पुर्‍याउँदै हाल साहित्यतर्फ झुकाव राख्नुहुन्छ । उहाँले निस्ट फाउन्डेसनमार्फत ‘नेपाली नाट्यविमर्श’ पुस्तक प्रकाशनलाई सहयोग पुर्‍याउँदै पुस्तक बिक्रीबाट आएको रकम नाट्य क्षेत्रकै लागि खर्च गर्ने बरालको भनाइ छ । 

नेपाल नाट्य प्रतिष्ठान पोखराका अध्यक्ष एवं ‘नेपाली नाट्यविमर्श’ का प्रधान सम्पादक प्राडा रामचन्द्र पोखरेलले नाट्य क्षेत्रसँग सम्बन्धित सर्जकको अन्तर्राष्ट्रिय भेलापछि सो पुस्तकको प्रकाशन गर्ने परिस्थिति सिर्जना भएको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष एवं पुस्तक सम्पादक डा. अशोक थापा, पुस्तकका डिजाइनर ईश्वर श्रेष्ठ, सम्पादक मण्डलका सदस्यहरू सुन्दर मानन्धर, पुरु लम्साललाई पनि सम्मान गरिएको थियो ।