• ११ असोज २०८१, शुक्रबार

विवशको ‘अर्धकदको अवसान’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । लेखक ज्ञानेन्द्र विवशको निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ राजधानीमा सार्वजनिक गरिएको छ । ‘अर्धकदको अवसान’ निबन्धसङ्ग्रह निबन्धकार विवशको १५ औँ कृति हो । सो सङ्ग्रहमा तीन दर्जन निबन्ध छन् । 

निबन्धमा मूलतः प्रकृति, प्रेम र जीवनका जीवन्त अनुभूतिलाई कलात्मक भाषाशैलीमा अभिव्यक्त गरिएको छ । निबन्धका अभिव्यक्ति र तिनमा प्रतिविम्बित भावनामा नेपाली मन र मुटुको स्पन्दन पाइन्छ । पाखापखेराका सुसाइ भेटिन्छ । जीवन भोगाइका दृश्यचित्र देखिन्छ । नेपाली जनजीवन, समाज र समयका तस्बिर निबन्धमा प्रस्ट पाइन्छ । सो सङ्ग्रह समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूप भन्दा फरक नपर्ला । 

भुँडीपुराण प्रकाशनबाट प्रकाशित ‘अर्धकदको अवसान’ ले समेटेका विचार भावना निकै गम्भीर छन् । ती निबन्धात्मक विम्बमा अवतरित भएका सम्पूर्ण वर्णन विवरण नेपाली समाजका दस्ताबेज बन्न पुगेको छ । लेखक विवशका पीडाका अनुभूतिहरू, क्यानभासका तरङ्गहरू, राराकी अप्सरा, मृत्यु उत्सव, आकृतिको आवाजलगायत निबन्ध प्रकाशित छन् । लेखक विवशले कला र जात्रा संस्कृतिका विषयमा समेत कलम चलाउँदै आउनुभएको छ ।