• २० असोज २०८१, आइतबार

चालीस प्रतिशतले बढ्यो इन्धनको माग

blog

काठमाडौँ, वैशाख २९ गते । पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल) खपत भएको छ । स्थानीय चुुनावका कारण मुलुुकभर इन्धनको माग बढेको हो । नेपाल आयल निगमका अनुसार वैशाख १९ देखि २५ गते आइतबारसम्ममा ५९ हजार ९२७ किलोलिटर अर्थात् पाँच करोड ९९ लाख २७ हजार लिटर इन्धन खपत भएको छ । सो अवधिमा २० हजार ३२७ किलोलिटर पेट्रोल र ३९ हजार छ सय किलोलिटर डिजल खपत भएको छ । अघिल्लो सोमबारदेखि बजारमा इन्धनको खपत बढ्दै गएको हो ।

निगम प्रवक्ता विनीतमणि उपाध्यायले चुुनावले डिजल र पेट्रोलको खपत ४० प्रतिशतले बढेको जानकारी दिनुुभयो । उहाँका अनुसार सामान्य अवस्थामा पेट्रोल दैनिक अधिकतम दुई हजार पाँच सय किलोलिटर बिक्री हुने गरेकामा अहिले चार हजार किलोलिटरसम्म खपत हुने गरेको हो । 

यसैगरी यसअघि दैनिक अधिकतम छ हजार किलोलिटर डिजल खपत हुने गरेकामा अहिले १० हजार किलोलिटरसम्म भएको निगमले जनाएको छ । निगमका अनुसार अहिले दैनिक पौने तीन अर्ब रुपियाँको डिजल र पेट्रोल बिक्री भइरहेको छ ।

वैशाख १९ गते सोमबार पेट्रोल चार हजार ९१० किलोलिटर र डिजल १० हजार ४७९ किलोलिटर खपत भएको थियो भने मङ्गलबार सार्वजनिक बिदा भएकाले १८२ किलोलिटर, बुधबार चार हजार ४२५ किलोलिटर, बिहीबार तीन हजार १६५ किलोलिटर, शुक्रबार तीन हजार ५५८ किलोलिटर, शनिबार ११ किलोलिटर र आइतबार तीन हजार ९४३ किलोलिटर पेट्रोल खपत भएको थियो । 

यस्तै डिजेलको खपत वैशाख १९ गते सोमबार १० हजार ४७९ किलोलिटर, मङ्गलबार १५ हजार किलोलिटर, बुधबार सात हजार ९८१ किलोलिटर, बिहीबार छ हजार १५७ किलोलिटर, शुक्रबार सात हजार ३४१ किलोलिटर, शनिबार १६ किलोलिटर र आइतबार  सात हजार ४९७ किलोलिटर खपत भएको निगमले जानकारी दिएको छ । उक्त एक साताको अवधिमा ४३० किलोलिटर मट्टीतेल र चार हजार ४९५ किलोलिटर हवाई इन्धन खपत भएको छ । यी दुई इन्धनको मागमा धेरै वृद्धि भएको छैन ।

वैशाख १९ देखि २५ गतेसम्म निगमको थानकोट डिपोबाट डिजल छ हजार ५५६ किलोलिटर र पेट्रोल पाँच हजार ६६२ किलोलिटर बिक्री भएको छ । यो सातामा दुई दिन सार्वजनिक बिदा परेकाले ती दिन थानकोट डिपोबाट पेट्रोलियम पदार्थ बिक्री भएको छैन ।

बिदाले खपत १० प्रतिशत घटाउने

सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेकाले डिजल र पेट्रोलको खपत सातदेखि १० प्रतिशत कमी आउने प्रवक्ता उपाध्यायले जानकारी दिनुुभयो । दुुई दिन सार्वजनिक बिदा भएपछि सवारीसाधन कम चल्ने भएकाले इन्धन खपतमा कमी हुने अनुुमान गरिएको हो । 

वैशाख पहिलो साता प्राप्त भारतीय आयल कर्पोरेसन (आईओसी)को नयाँ बिक्री मूल्यसूचीअनुसार पेट्रोल र डिजलको खरिद लागत मूल्य क्रमशः प्रतिलिटर १८३ रुपियाँ दुई पैसा र १८३ रुपियाँ १३ पैसा छ । निगमले अहिले प्रतिलिटर १६० रुपियाँ लिटरमा पेट्रोल र १४३ रुपियाँमा डिजल बिक्री गर्दै आएको छ, जसअनुसार निगमलाई पेट्रोलमा लिटरमा २३ रुपियाँ दुई पैसा र डिजलमा प्रतिलिटर ४० रुपियाँ १३ पैसा घाटा छ ।


Author

लक्ष्मी सापकोटा