• ५ जेठ २०८१, शनिबार

प्रधानमन्त्री देउवाले रुवाखोलाको असिग्रामबाट मतदान गर्नुहुने

blog

प्रधानमन्त्री देउवाको गाउँ मटेलाबाट देखिने रुवाखोला क्षेत्र तथा उहाँले मतदान गर्ने असिग्राम मावि मतदान केन्द्र ।

पुष्कर भण्डारी
डडेल्धुरा, वैशाख २८ गते ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्नुहुने भएको छ ।

सहायक मतदान अधिकृत दिलीप तामाङले सो जानकारी दिनुभएको हो । प्रधानमन्त्री देउवा केही दिनदेखि गृह जिल्लामै रहनु भएको छ । गन्यापधुरामा कुल मतदाता सङ्ख्या १० हजार ४१४ र १४ वटा मतदान केन्द्र छन् । यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले यसै विद्यालयमा अध्ययन पनि गर्नुभएको हो । उहाँको घर विद्यालयको पूर्वतर्फको मटेला गाउँमा छ । उहाँको जन्मघर मटेला गाउँ र मतदान केन्द्रको बिचमा रुवाखोला नामको खोला पर्छ  । यसै खोलाको नामबाट यस क्षेत्रको नाम रुवाखोला रहन गएको हो । खोलाछेउमै असिग्राम देवताको मन्दिर पनि छ ।

यसै मन्दिरको नामबाट विद्यालयको नामकरण गरिएको हो । तत्कालीन अवस्थामा यो क्षेत्र असिग्राम गाविस थियो । पाँचवटा गाविसलाई समेटेर गन्याधपुरा गाउँपालिका बनाइएको हो । डडेल्धुरामा कुल मतदाता सङ्ख्या ९० हजार ११९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।