• २ असोज २०८१, बुधबार

‘अस्ट्रेलियाली राज्यमा १० प्रतिशत पुरुष घरेलु हिंसामा कारबाहीमा पर्छन्’

blog

 सिड्नी, असोज १  गते । अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) मा झण्डै १० प्रतिशत पुरुषले घरेलु तथा पारिवारिक हिंसाको अपराधमा प्रहरीबाट कानूनी कारबाही भोग्नु परेको सरकारी अध्ययनले मङ्गलबार जनाएको छ ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआइसी) द्वारा प्रकाशित अनुसन्धानअनुसार पूर्वी तटीय राज्य एनएसडब्लुमा जन्मेका छ दशमलव तीन प्रतिशत व्यक्तिलाई परिवार र घरेलु हिंसाको कसुरमा प्रहरीले कारबाही गरेको पाइयो ।

अध्ययनमा पुरुषहरूको यो दर तीन प्रतिशत महिलाको तुलनामा नौ दशमलव छ प्रतिशत अत्यन्त धेरै रहेको देखिएको छ । 

समग्रमा एनएसडब्लुमा जन्मेका एक दशमलव दुई प्रतिशत व्यक्ति ५० प्रतिशतभन्दा बढी परिवार र घरेलु हिंसाका अपराधहरूका लागि जिम्मेवार रहेको पत्ता लगाएको छ । परिवार र घरेलु हिंसाका अपराधहरू तीन समूहका मानिसद्वारा गरिएका सबै आपराधिक अपराधमध्ये लगभग आधा हुन् ।

एआइसीका उपनिर्देशक रिक ब्राउनले अनुसन्धानले अस्ट्रेलियामा पारिवारिक र घरेलु हिंसाको उच्च प्रचलनलाई उजागर गरेको बताउनु भयो । 

“घरेलु हिंसा गर्नेहरूलाई पहिचान गरी लक्षित गरेर विशेष गरी अपराधलाई सामान्य रूपमा रोक्न सक्छौँ”, उहाँले विज्ञप्तिमा भन्नुभयो, “यो प्रतिवेदन अस्ट्रेलियामा जनसङ्ख्याको नमूनामा रेकर्ड गरिएको पारिवारिक र घरेलु हिंसा अपराधीहरूको व्यापकताको पहिलो अनुमान हो । यो पारिवारिक र घरेलु हिंसाका अपराधीहरूको दृश्यता बढाउने दिशामा महत्त्वपूर्ण कदम हो ।”

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका अनुसार अस्ट्रेलियामा चारमध्ये एक महिला र १४ मध्ये एक पुरुषले १५ वर्षको उमेरदेखि नै घनिष्ठ साथीबाट हिंसाको अनुभव गरेका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले सेप्टेम्बरको सुरुमा अस्ट्रेलियाका सङ्घीय, राज्य र क्षेत्रीय सरकारहरूले घरेलु हिंसा रोक्न र पीडितहरूलाई सहयोग गर्न पाँच वर्षे योजनामा चार अर्ब ७० करोड अस्ट्रेलियाली डलर (तीन अर्ब १० करोड अमेरिकी डलर) लगानी गर्न सहमत भएको घोषणा गर्नुभएको थियो । सिन्ह्वा, रासस