• २७ वैशाख २०८१, बिहिबार

टुर च्याम्पियनसिप गल्फमा सुवासको एक्लो अग्रता

blog

प्रतियोगिताको तेस्रो दिन सट प्रहार गर्दै सुवास तामाङ । तस्बिर सौजन्य : एनपीजीए

काठमाडौँ, वैशाख २८ गते । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको तेस्रो दिन बुधबार एमेच्योर गल्फर सुवास तामाङले एकल अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा सुवासले बुधबार तीन अन्डर ६९ खेल्नुभयो । उहाँको कूल १५ अन्डर २०१ स्कोर छ ।

सुवाससँग दुई स्ट्रोकले पछि पर्नुभएको घरेलु प्रो भुवन नगरकोटी दोस्रो स्थानमा हुनुहुन्छ । बुधबार एक अन्डर ७१ खेल्नुभएका भुवनको कूल १३ अन्डर २०३ स्कोर छ । कूल आठ अन्डर २०८ स्कोरका सात सुक्रबहादुर राई तेस्रो स्थानमा हुनुहुन्छ । तेस्रो दिन सुक्रले एक अन्डर ७१ खेल्नुभयो ।

चौथो स्थानमा रहनुभएका रवि खड्काको कूल ६ अन्डर २१० र पाँचौँ स्थानमा रहनुभएका सद्भाव आचार्यको कूल चार अन्डर २१२ स्कोर छ । ७२ होलको चार दिने प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरेको प्रतियोगिताको कूल पुरस्कार राशी सात लाख ७५ हजार रुपियाँ रहेको छ ।

प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल चरणमा पुग्ने सबै प्रो नगद पुरस्कारको हकदार बन्नेछन् । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिने एसोसिएसनले जनाएको छ ।