• २२ असोज २०८१, मङ्गलबार

न्यायको पर्खाइमा रहेका पूर्णप्रसाद

blog

कागजपत्र बोकेर न्यायको माग गर्दै द्वन्द्वपीडित पूर्णप्रसाद पौडेल । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, असोज १ गते । वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतमा सामान्य पसल गरी आफ्नो जीवनयापन गरिरहेका पूर्णप्रसाद पौडेलको परिवार सशस्त्र द्वन्द्वमा बिनाकारण कसरी विक्षिप्त भएको होला भनेर अनुमान गर्न गाह्रो छ । विद्रोही माओवादीको आरोपमा तत्कालीन शाही नेपाली सेनाले उहाँको परिवारलाई यतिसम्म यातना दियो कि अझैसम्म त्यो यातना बोकी हिँड्नु परेको छ । 

आफू र आफ्नो परिवारलाई क्रूर यातना दिनेलाई कडा कारबाही, उपचार गर्न, लुटिएको सम्पत्तिको क्षतिपूर्तिका लागि एक दशक बढीदेखि पौडेल न्याय प्राप्तिको यात्रामा हिँडिरहनुभएको छ तर पूर्ण न्याय पाउन सक्नुभएको छैन । 

आफ्नो सर्वस्व गुम्दा पनि उहाँका लागि न्याय पाउने अवस्था अझ कठिन बन्दै गएको छ ।  अहिले पौडेलको हातमा राष्ट्रिय मानव अधिकार आयोगले दिएको जानकारीपत्र समाउँदै विभिन्न कार्यालय धाइरहनुभएको छ । सशस्त्र द्वन्द्वकालमा आफूसहित आफ्नो सबै परिवारले मानसिक, भौतिक, शारीरिक यातना दिनेलाई कडा कारबाही र आफूहरूले क्षतिपूर्तिसहितको न्याय पाउनका लागि उहाँ विभिन्न निकाय धाइरहनुभएको छ । यति गर्दा पनि पौडेलले अझै न्याय पाउन सक्नुभएको छैन । आफ्नो सर्वस्व गुम्दा पनि उहाँका लागि न्याय प्राप्ति झनै कठिन भएको छ । 

२०५८ साल मङ्सिर १४ गते तत्कालीन शाही नेपाली सेनाले माओवादीको आरोपमा नेपालगन्जबाट पक्राउ गरेर चिसापानी ब्यारेकमा यातना दिइराखेको थियो । २०५८ साल पुस २४ गते श्रीमती खगिसरालाई पनि सेनाले पक्राउ गरी यौन दुव्र्यहार गरेको, दुई छोरा सेनाको कुटाइले डिप्रेसनमा पुगी आत्महत्या गरेको, भएको पसल र सम्पत्ति सेनाले लुटेर पौडेलको सर्वस्व गुमेको छ । श्रीमतीको उपचारमा लाखौँ रकम सकियो । यति पीडा सहँदा पनि उहाँले अझै न्यायका लागि भन्दै लडिरहनुभएको छ । 

२०६० साल जेठ ५ गते उहाँ सेनाको ब्यारेकबाट मुक्ति पाउनुभयो । सेनाले परिवारलाई नै निकै यातना दिएको थियो । दुवै छोरालाई सेनाले निर्घात कुटेको थियो । कुटाइबाट छोराहरू मानसिक रूपमा विक्षिप्त बने । २०६४ सालमा कान्छा छोरा नारदले आत्महत्या गरे । २०७४ सालमा जेठो छोरा राजेन्द्रले पनि नदीमा हामफालेर आत्महत्या गरे । उहाँका दुई छोरीलाई पनि सेनाबाट बचाउन आफन्तले सानै उमेरमा विवाह गराइदिए । यसरी उहाँको परिवारले यातनाको पहाड नै बोक्नु प¥यो । 


त्यति मात्र होइन पसल गर्दा र उपचार गर्दा लागेको ऋण बढिरहेको छ । उपचारका लागि घर बैङ्कमा राखेर ऋण बढेको र तिर्न नसक्दा घर पनि लिलाम हुने अवस्थामा रहेको उहाँले बताउनुभयो । श्रीमतीको उपचारमा लाखौँ खर्च भइसकेको छ । अझै निको भएको छैन । आफू र आफ्नो परिवारलाई यातना दिने नेपाली सेना भीमकाल गुल्म चिसापानी ब्यारेकका तत्कालीन मेजर अजित थापा, सोही गुल्मका तत्कालीन क्याप्टेन रमेश स्वाँर र सुर्खेतको मङ्गलगढी ब्यारेकका तत्कालीन जमदार रामबहादुर महत दोषी भएको भनी अदालतले कारबाही सिफारिस गर्दा पनि उनीहरूलाई कारबाही नभएको र पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयलाई क्षतिपूर्ति भराउन आदेश दिँदा पनि अझै न्याय नपाएको भन्दै पौडेलले विभिन्न निकायमा धाइरहनुभएको छ । 

यस घटनामा संलग्न सैनिक अधिकृत अजित थापा, रमेश स्वाँर र रामबहादुर महतलाई कारबाही गर्न आयोगले सरकारलाई निर्देशन दिइसकेको छ । साथै पौडेललाई क्षतिपूर्ति दिन पनि सरकारलाई निर्देशन दिएको छ । पौडेलकी पत्नी खगिसरा हालसम्म पनि उपचार गराइरहनुभएको छ । उहाँलाई निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 

२०६४ सालमा पौडेलले सुर्खेत जिल्ला प्रहरी कार्यालयमा सम्पत्तिको मुचुल्का गरिदिन र श्रीमतीलाई बलात्कार गरेको भन्दै सेनाका तत्कालीन जमदार रामबहादुर महतविरुद्ध किटानी जाहेरी दिनुभयो । सम्पत्ति जफतको सम्बन्धमा मुचुल्का त भयो । बलात्कार जाहेरीमा कुनै सुनुवाइ नै नभएको उहाँले बताउनुभयो । यसलगत्तै २०६६ सालमा उहाँले पुनरावेदन गर्नुभयो । सम्पत्ति जफतको परिपूर्ति र लडाइँमा घाइते भएको भन्दै उपचार गर्ने फैसला भयो तर यो फैसला अझैसम्म कार्यान्वयन भएको छैन ।

यस्तै २०७१ सालमा उहाँले सर्वोच्चमा मुद्दा दायर गर्नुभयो । त्यसपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले परिपूर्ति भनेर तीन लाख रुपियाँ र घाइते भएकामा उपचार गर्न दुई लाख सिफारिस गरिदियो । एक दशकभन्दा बढीदेखि पौडेलले न्यायका लागि अदालत तथा सरोकारवाला निकाय धाइरहनुभएको छ । सम्पत्ति जफतको परिपूर्ति, दम्पतीको उपचार र परिवार नै तहसनहस बनाएको क्षतिपूर्तिका लागि उहाँ दौडिरहनुभएको छ ।