• २२ असोज २०८१, मङ्गलबार

विश्वकर्मा र वास्तुकला

blog

हिन्दु समुदायमा प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन विश्वकर्मा भगवान्को जन्मजयन्ती मनाउने गरिन्छ । यस दिन विभिन्न कारखाना, उद्योगमा विभिन्न मेसिनरी प्रविधिको पूजा गरी विश्वकर्मालाई स्मरण गर्ने गरिन्छ । यस दिनलाई विश्वकर्मा जयन्ती मात्र नभनेर वास्तु दिवस, इन्द्रजात्रा, राष्ट्रिय चलचित्र दिवस, राष्ट्रिय विज्ञान दिवस, उत्पादन वृद्धि र राष्ट्रिय समृद्धिका लागि एक सङ्कल्प दिवसका रूपमा पनि स्मरण गरिन्छ । विश्वकर्मालाई सम्मानस्वरूप विभिन्न क्षेत्रका निर्माणकर्मी, कारिगर, इन्जिनियरले आफ्ना उपकरणको पूजा गर्छन् र विश्वकर्माबाट आशीर्वाद प्राप्त गर्ने गर्दछन् । 

विश्वकर्मालाई हिन्दु वैदिक धर्ममा एक प्रमुख देवताका रूपमा मान्ने गरिन्छ । धार्मिक ग्रन्थमा यिनलाई सृष्टिकर्ता र महान् वास्तुकारका रूपमा व्याख्या गरिएको छ । देवताका लागि भवन, यन्त्र र विभिन्न उपकरण निर्माण गर्ने गरेका कारण वास्तुकला र हस्तकला (शिल्पकला) का देवता मानिन्छ ।

विश्वकर्मा र वास्तुकलाको सम्बन्ध 

वास्तुकला शब्द संस्कृतमा ‘वास्तु’ (भवन) र ‘कला’ (कला) को संयोगबाट बनेको हो । वास्तुकलालाई खास गरी निर्माणको विज्ञान र कलाको संयोजन रूपमा लिने गरिन्छ । वैदिककालमा विभिन्न मठमन्दिर, राजमहल र अन्य महत्वपूर्ण संरचना बनाउने कार्य वास्तुकलाका आधारमा गर्ने गरिन्थ्यो । विभिन्न पुराणमा विश्वकर्माको महिमा, उनले निर्माण गरेका विभिन्न भवन, कला र उपकरणको वर्णन गरिएको छ । पुराणले विश्वकर्मालाई हिन्दु स्थापत्य कलाका उत्कृष्ट शिल्पकारका रूपमा व्याख्या गरेको छ ।

हिन्दु धार्मिक पुराण हेर्ने हो भने विश्वकर्माद्वारा निर्माण गरेका महìवपूर्ण वस्तुमा भगवान् विष्णुको सुदर्शन चक्र, शिव भगवान्को त्रिशूल, पाण्डवको इन्द्रप्रस्थ, रावणको लङ्का नगरी र द्वारकापुरीधाम समावेश छन् ।

पुराणहरूमा विश्वकर्मा एक प्रमुख देवता र महान् कारिगरका रूपमा प्रतिष्ठित छन् । उनलाई संसारका सबै संरचना, यन्त्र र उपकरणका स्रष्टा, आविष्कारक र जनक मानिन्छ । विश्वकर्मा विभिन्न पुराणमा उल्लेखित छन् र हरेक पुराणले उनलाई विशेष भूमिकामा चित्रित गरेको छ ।

वेद र पुराणमा विश्वकर्माको वर्णन

ऋग्वेद : ऋग्वेद अनुसार विश्वकर्मालाई एक सृष्टिकर्ता मानिन्छ । उनको रूप आदित्य (सूर्य) जस्तो उज्यालो भएको भनी वर्णन गरिएको छ । ब्रह्माजीको आज्ञाले सम्पूर्ण ब्रह्माण्डको निर्माण गरेका कारण विशिष्ट स्रष्टाका रूपमा सम्मान पाएका छन् ।

श्रीमद्भागवत पुराण : हिन्दु वैदिक धर्मावलम्बीका लागि पुराणले चार धामलाई प्रमुख धामका रूपमा लिएको छ । जीवनकालमा एक पटक चार धामको दर्शन गरे मोक्ष प्राप्त हुन्छ भन्ने पौराणिक मान्यता छ । ती धाममध्येको एक धाम हो द्वारकापुरी धाम । यस धामको निर्माण भागवत पुराण जस्ता प्राचीन हिन्दु ग्रन्थहरूमा उल्लिखित छ । यो विशेष गरी श्रीकृष्णसँग जोडिएको छ । 

भागवतका अनुसार श्रीकृष्णले मथुरामा कंसको वध गरेपछि कंसका ससुरा जरासन्धले श्रीकृष्ण र बलराममाथि पटक पटक आक्रमण गर्न थाल्यो, मथुरा निरन्तर आक्रमणको सिकार बनेपछि भगवान् श्रीकृष्ण अत्यन्त चिन्तित हुनुभयो । उहाँले यदुवंशलाई सुरक्षित राख्न मथुराबाट अन्यत्र स्थानान्तरण गर्ने निर्णय गर्नुभयो । श्रीकृष्णले समुद्र देवतासँग समन्वय गरेर समुद्र किनारको एक विशाल सुन्दर भूभाग प्राप्त गर्नुभयो । यस भूभागमा नयाँ सहर निर्माण गर्न पर्याप्त ठाउँ थियो । समुद्र देवताले आफ्नो कृपाबाट श्रीकृष्णलाई यस स्थानलाई द्वारकापुरी बनाउन दिने प्रतिज्ञा गरे । 

भूमि प्राप्त भइसकेपछि श्रीकृष्णले वास्तुकलाका प्रमुख देवता विश्वकर्मालाई द्वारकापुरी निर्माणको जिम्मेवारी दिनुभयो । विश्वकर्माले श्रीकृष्णको आज्ञा अनुसार एकै रातमा अलौकिक, अनुपम, दिव्य, अद्वितीय भवन र सहरको निर्माण गरी भगवान्लाई हस्तान्तरण गरे । सो सहर र दिव्यधाम अहिले पनि छिमेकी मुलुक भारतमा जस्ताको तस्तै देख्न पाइन्छ ।

विष्णु पुराण : विष्णु पुराणका अनुसार विश्वकर्माले भगवान् विष्णुको लागि सुदर्शन चक्र निर्माण गरेको प्रसङ्ग पाइन्छ । सुदर्शन चक्रलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र मानिन्छ । सुदर्शन चक्र रहेको ठाउँमा कलिको प्रभाव रहँदैन भन्ने पौराणिक मान्यता रहेको छ ।

महाभारत : पाण्डवका लागि इन्द्रप्रस्थको निर्माण गरेका कारण विश्वकर्माको अद्भुत कला भनी महाभारतमा व्याख्या गरिएको छ । इन्द्रप्रस्थ एक अद्भुत नगरी हो, जसको सौन्दर्य र कला मानव क्षमताभन्दा पर थियो । यस दिव्य नगरको निर्माणले उनको अद्वितीय निर्माणकला र वास्तुकलालाई देखाउँछ ।

रामायण : विश्वकर्माले रावणका लागि लङ्का नगरी निर्माण गरेको प्रसङ्ग रामायणमा उल्लेख छ । लङ्का नगरी सुनैसुनले बनेको थियो र अत्यन्तै सुन्दर तथा समृद्ध थियो । यस प्रसङ्गले विश्वकर्माको निर्माणकलाको कौशललाई उच्चतम रूपमा प्रस्तुत गर्दछ ।

शिव पुराण : भगवान् शिवको त्रिशूल बनाएका कारण शिव पुराणमा पनि विश्वकर्माको महत्वपूर्ण स्थान छ । त्रिशूल अर्थात् तीन शूललाई अत्यन्त शक्तिशाली बलवान् मानिन्छ र यसले विश्वकर्माको निर्माण सिपको उच्चतम कदर गर्दछ । 

प्राचीन हिन्दुशास्त्रमा देवताहरूका प्रमुख वास्तुकार, शिल्पकार र निर्माणको देवताका रूपमा विश्वकर्मालाई मानिन्छ । उनको वास्तुकलाको महत्व पौराणिककालदेखि वर्तमानसम्म जीवित रहिआएको छ । वास्तुकलामा विश्वकर्मा र उनको योगदानलाई आधुनिक युगमा पनि महत्व दिइएको पाइन्छ । विश्वकर्मालाई स्वर्गका राजा इन्द्रको महल, पुष्पक विमान र विभिन्न दैवी संरचनाको निर्माणकर्ताका रूपमा सम्झिन्छ । उनले बनाएका कला पौराणिक भए पनि यी संरचनाले प्राचीन पूर्वीय वास्तुकलाको उन्नत ज्ञानलाई देखाउँछ । विश्वकर्माको नामले आजको वास्तुकलालाई प्रेरणा दिन्छ, जसले प्राचीन शिल्प र निर्माणको ज्ञानलाई समेत सम्मान गर्न सिकाउँछ ।

वास्तुशास्त्र, जसले भवनको संरचना र वातावरणको सन्तुलनलाई महत्व दिन्छ, जुन विषय विश्वकर्मासँग जोडिएको छ । आजको समयमा विभिन्न किसिमका घर, भवन, मन्दिर, हललगायतका संरचनाको डिजाइन र निर्माणमा वास्तुशास्त्रलाई धेरै मान्यता दिइन्छ । यस्ता संरचनाको उचित डिजाइन, दिशागत सन्तुलन र सकारात्मक ऊर्जा प्रवाहका लागि आज पनि विश्वकर्माको आदर्श, ज्ञान, सिप र कौशलतालार्ई ध्यानमा राखेर काम गरिन्छ । यति मात्र नभएर विश्वकर्मालाई इन्जिनियरिङ र आर्किटेक्चर आदिको प्रवर्तकका रूपमा मानिन्छ । 

आधुनिक प्रविधि र निर्माण विज्ञानले नयाँ आयाम ल्याएको छ । विश्वकर्माको योगदानले मानव सभ्यताको निर्माणमा शिल्पकार र वास्तुकारको भूमिका प्राचीन समयदेखि महìवपूर्ण रहेको दर्साउँछ । यस्ता प्राचीन वास्तुकलाले सांस्कृतिक धरोहरको संरक्षण गर्नुका साथै पुराना शैली र प्रविधिलाई सुरक्षित गर्दै नयाँ संरचना निर्माण गर्ने गर्छ । यसकारण आज पनि इन्जिनियर, वास्तुकार र शिल्पकारहरूले विश्वकर्मालाई आफ्नो प्रेरणाको स्रोत मान्छन् ।

Author

टङ्क पराजुली