• १ असोज २०८१, मङ्गलबार

लान्द्रुरुक मोदीमा जुट्यो लगानी

blog

गोररखापत्र समाचारदाता

काठमाडौँ, असोज १ गते । सिँगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुरुक  मोदी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । 

आयोजनामा माछापुच्छ्रे बैङ्कको नेतृत्वमा छ वटा बैङ्कले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैङ्क लिमिटेडका तर्फबाट विनीतकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुङ्ग्याउनुभएको हो । १६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैङ्कहरूले ७५ प्रतिशत अर्थात् १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत स्वपुँजीका रूपमा लगानी हुने छ । 

आयोजनामा ग्लोबल आइएमई, एभरेस्ट, एसबिआई, कृषि विकास र लुम्बिनी विकास बैङ्कसमेत सहभागी हुने छन् । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो आयोजना नेपालमा सबैभन्दा धेरै उचाइमा भएको दाबी गरिएको छ ।  

उक्त आयोजनाको हेडवक्र्सदेखि विद्युत्गृहसम्मको वास्तविक उचाइ एक हजार ४१८ मिटर छ । नेपाली जलविद्युत् आयोजनामा यो लेभलको उचाइ सबैभन्दा धेरै हो । नेपाल विद्युत् प्राधिकरणसँग यसअघिनै विद्युत् खरिदबिक्री सम्झौता पिपिए भइसकेको यस आयोजनामा आगामी कात्तिकबाट भौतिक निर्माणको काम सुरु हुने प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिले जनाएको छ ।