• १ असोज २०८१, मङ्गलबार

वडाध्यक्षसहित १० जना थुनामा

blog

जिल्ला अदालत बाँके । तस्बिरः गोविन्द शर्मा

गोविन्द आचार्य

बाँके, भदौं ३१ गते । जिल्ला अदालत बाँकेले राप्ती–सोनारी गाउँपालिका–२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

जिल्ला न्यायाधीश दीपक घिमिरेको इजलासले आइतबार वडा अध्यक्ष वलीसहित १० जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । वडाध्यक्ष वली, विशाल बस्नेत, चूडामणि वली, लोकबहादुर डाँगी र रत्नबहादुर भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीहरू पाँचै जना पक्राउ परेका छन् । 

यसैगरी हाल फरार रहेका नारायण डाँगी, नवीन गुरुङ, आगमन प्रताप सिंह, सन्तोष गुप्ता र पूर्णचन्द्र देवकोटाविरुद्ध मुद्दा दायर गरिएको छ । मुद्दाको बहस जारी रहँदा आइतबार पनि जिल्ला अदालत बाहिर दुवै पक्षले धर्ना दिएका थिए । 

राप्ती–सोनारी–२ का स्याण्डी भनिने सन्दीप विष्ट र बैजनाथ–७ का सुलभ मल्ललाई एक समूहले गत भदौ १ गते धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । मल्ल र विष्टको शिक्षण अस्पताल नेपालगन्ज, भारतको लखनउ हुँदै हाल नयाँ दिल्लीमा उपचार भइरहेको छ । 

विष्टको दुवै हातमा र मल्लको कोखामा धारिलो हतियार प्रहार भएको छ । दुवैको अवस्था गम्भीर रहेको आफन्तका सदस्यको भनाइ छ । विष्ट र मल्लमाथि आक्रमण भएको घटनामा संलग्न रहेको भन्दै वडाध्यक्ष वलीसहित १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।