• ५ जेठ २०८१, शनिबार

बाँकेमा निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन

blog

सिराज खान
नेपालगञ्ज, वैशाख २८ गते ।
बाँकेमा स्थानीय तह निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

खुला सीमानाका कारण बाँकेमा निर्वाचन सुरक्षा निकायको लागि ठूलो चुनौती रहेकोले सो चुनौतीको सामना गर्न जिल्लामा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको हो  ।

बाँकेका ६५ किलोमिटर खुला सीमाना भएकोले निर्वाचन सुरक्षालाई विशेष महत्व दिँदै चार हजार सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाँकेमा अतिसंवेदनशील र संवेदनशील गरी दुई थरिको मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरी सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको जानकार दिनुभयो ।

पहिलो घेरा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र आवश्यक पर्ने ठाउँमा नेपाली सेना परिचालन गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका सबै मतदानस्थलको स्थलगत अनुगमन गरेर ती मतदानस्थलको अवस्था बारे राम्ररी अध्ययन गरेपछि सुरक्षाकर्मी परिचालनको रणनीति तयार गरिएको बताउनुभयो । उहाँले शान्ति सुरक्षाका हिसाबले अतिनै संवेदनशील क्षेत्रमा मात्रै सेना खटाइएको जानकारी दिनुभयो ।

यसैबीच बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जिल्लामा १०१ मतदान केन्द्र अतिसंवेदनशील र ३५ संवेदशील मतदान केन्द्र रहेकोले सोही बमोजिम सुरक्षाकर्मी खटाइएको बताउनुभयो ।

मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका बारेमा ती केन्द्रका उम्मेदवार, विभिन्न दलका प्रतिनिधि, समुदायका अगुवा तथा आम जनसमुदायसँग पनि छलफल गरेर सुरक्षा व्यवस्था मिलाएको उहाँको भनाइ छ ।

सीमाना नजिक रहेका मतदान केन्द्र र मतदानस्थलमा सुरक्षा ठूलो चुनौती रहेकोले सो चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा रणनीति बनाइएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ ।

बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदान स्थल रहेका छन् । तीमध्ये १०१ मतदान केन्द्र अतिसंवेदनशील र ३५ मतदान केन्द्रलाई संवेदनशीलमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।