• २९ भदौ २०८१, शनिबार

नियमसंगत चलाएमा सहकारी डुब्दैनन् : प्रधानमन्त्री ओली

blog

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, भदौ २९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसंगत चलाएमा सहकारी नडुब्ने र यसले कसैलाई नडुबाउने बताउनुभएको छ ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले शनिबार सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताउनुभयो ।

अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरुले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार अनियमतता, बेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट गर्नुभयो ।



“ विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो । स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरुमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरु छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।”