• २९ भदौ २०८१, शनिबार

पाँच सय तेह्र हलगोरुको बिमा

blog

धादिङ समाचारदाता

धादिङ, भदौ २९ गते । प्रविधिको विकाससँगै गोरु लगाएर खेतबारी जोत्ने क्रम घट्दो रहेको अवस्थामा धादिङको गजुरी गाउँपालिकाले किसानले जोत्न पालेका गोरुको एक वर्षका लागि बिमा गरिदिएको छ । गत असार २३ गते बिमापत्र जारी गरी आगामी वर्षको असार २२ गतेसम्मका लागि ५१३ हलगोरुको दुई करोड ५४ लाख दुई हजार बिमाङ्क रकमको तीन लाख ४९ हजार ४४८ रुपयाँ प्रिमियम रकम गजुरी गाउँपालिकाले बेहोेरेको छ । 

गोरु बिमा तथा नगद सहायता कार्यक्रम कार्यविधि २०८१ अनुसार गत वैशाख ३१ गते गोरुको बिमा गर्न सार्वजनिक सूचना जारी गर्दै गोरुपालक किसान र हलगोरुको फोटोसहित निवेदन सङ्कलन गरिएको थियो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बिमाका लागि गत जेठ ३१ गते सम्झौता गरिएको थियो । 

गोरु पाल्ने ६१४ जना किसानले दिएको निवेदन परेकामा ५१३ हलगोरुको बिमा गरिएको पालिकाका कृषि तथा पशुपन्छी प्राविधिक डा. अस्मिन खुलालले जानकारी दिनुभयो । गोरु बिमा गर्नुको उद्देश्य भनेको स्थानीय जातका गोरुको संरक्षण गर्नु, आयस्तर कमजोर भएका समुदायलक्षित कार्यव्रmम सञ्चालन गर्ने र खेत बाँझो नराख्न र प्राङ्गारिक मलबाट किसानलाई कृषिमा आत्मनिर्भर बनाउने रहेको पालिकाले जनाएको छ । प्राविधिकको सल्लाह अनुसार प्रतिगोरुको बिमाङ्क रकम २० हजारदेखि ३० हजार रुपियाँसम्म तोकिएको खुलालले बताउनुभयो । 

गोरु बिमा गरेका गजुरी गाउँपालिका–१ का बद्री ढुङ्गाना भन्नुहुन्छ, “आफ्नो धनमालको सुरक्षा आफैँले गर्नुपर्ने हो । गाउँपालिकाले गोरुको बिमा गरिदिएको छ । यो काम राम्रो हो । गोरुको मात्र होइन गाई, भैँसी, राँगा, खसीबाख्राको पनि पनि बिमा गरिदिए अझ राम्रो हुन्थ्यो ।” “पहिले निवेदन दिनेबेला गोरु पाल्ने किसानलाई १०/१० हजार रुपियाँ दिन्छ भनेर गोरुको फोटो खिच्ने, फोटो धुलाउने, नागरिकता फोटोकपी गर्ने, निवेदन दिने गरेको हो, खै अहिलेसम्म पैसा आएको छैन । गोरुको कानमा पहेँलो के हो झुन्ड्याइदिएको छ, पैसा आउँदैन कि के हो ?” गजुरी गाउँपालिका–१ का गणेशमान तामाङले प्रश्न गर्नुभयो ।