• २३ पुस २०८१, मङ्गलबार

एमआरआई मेसिन सञ्चालन

blog

काँक्रेविहार समाचारदाता

सुर्खेत, भदौ २९ गते । प्रदेश अस्पताल सुर्खेतमा थ्री टेस्ला (६४ च्यानल) एमआरआई मेसिन सञ्चालनमा ल्याइएको छ । यसअघिदेखि परीक्षणका रूपमा सेवा सुरु भए पनि शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सो मेसिनको औपचारिक उद्घाटन गर्नुभयो । मुख्यमन्त्री कँडेलले प्रदेश अस्पताल सबैको प्राथमिकतामा परेकोले लगानी पनि त्यस अनुसार आकर्षित भएको बताउनुभयो । 

उहाँले आउँदा दिनमा अस्पतालले दिने सेवा पनि सुधार हुनुपर्ने बताउनुभयो । प्रदेश अस्पतालको सेवा सुविधा सरल र सहज बनाएर जनविश्वास बढाउनुपर्ने पनि उहाँले बताउनुभयो । अस्पतालको सेवालाई फलदायी र फराकिलो बनाउने प्रदेश सरकारको ध्यान केन्द्रित हुने जानकारी दिँदै उहाँले अस्पतालको स्तरवृद्धिका लागि कार्ययोजना बनाउन कार्यदलमार्फत काम भइरहेको उल्लेख गर्नुभयो । अस्पतालको विकासका लागि गठित कार्यदलले दिएको  सुझाव र तथ्यका आधारमा सोही अनुसार निर्णय लिइने उहाँको भनाइ थियो । सो अवसरमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले एमआरआई मेसिनको नियमित प्रयोग हुने अपेक्षा राख्दै यहाँबाट रिफर हुने दर आउँदा दिनमा घट्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि एमआरआई मेसिन नहुँदा स्वास्थ्य सेवा लिन नेपालगन्ज, काठमाडौँ तथा भारतको लखनउ जानुपर्ने बाध्यता थियो ।