• १० मंसिर २०८१, सोमबार

शैक्षिक पर्यटनको हब

blog

नेपाल विविधताले भरिएको भूमि हो । यहाँको मनमोहक प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र प्राचीन इतिहासले सबैलाई आकर्षित गर्छ । त्यसैले त नेपाललाई प्राकृतिक रूपमा विश्वमै अति सुन्दर र धनी देश मानिन्छ । हामीले भने यो तथ्यलाई स्वीकार नसक्दा नेपाल पछि परेको छ । नेपाल शैक्षिक पर्यटनका लागि पनि उच्च सम्भावना बोकेको मुलुक हो । पछिल्लो समयमा उच्च शिक्षा पढ्ने बहानामा बर्सेनि अर्बौं रुपियाँ र हजारौँ सबल युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ  । २०६८ सालको गणना अनुसार नेपालको साक्षरता ६५.९ प्रतिशत रहेकोमा २०७८ मा १०.२ प्रतिशत वृद्धि भई ७६.२ प्रतिशत पुगेको र महिला र पुरुष दुवैको साक्षरता दरमा उल्लेखनीय वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ९० हजार पाँच सय ९२ जना युवा शक्ति विदेशमा रहेको आकलन गरिएको छ । तथापि औपचारिक/अनौपचारिक माध्यमबाट करिब ४० लाख युवा देश बाहिर रहेको अनुमान छ । 

पछिल्लो १० वर्षमा विदेश जान लालायित विद्यार्थीको सङ्ख्या लगभग चार सय प्रतिशतको हारहारीमा रहेको बताइन्छ । वार्षिक एक लाख जति विद्यार्थी भारतबाहेकका अन्य मुलुकमा अध्ययनका लागि गइरहेका छन् । यस हिसाबले अध्ययनका लागि भनेर प्रतिवर्ष तीनदेखि चार खर्ब रुपियाँ बाहिरिएको छ । गत २०८०/८१ को आर्थिक वर्षमा विदेश पढ्न गएका नेपाली विद्यार्थीले ६७ अर्ब १९ करोड रुपियाँ लगेका छन् । यो गत वर्षको यही अवधिका तुलनामा ५४ प्रतिशतले बढी हो ।

अब यसरी दैनिक सयौँको सङ्ख्यामा नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् भने यसलाई रोक्न के कस्तो पहल गरियो त ? के यसरी नै नेपालले विदेशी विद्यार्थी ल्याउन पहल गरेको छ त ? यसबाट देशले के कति उपलब्धि हासिल गर्न सफल भयो यो खोजको विषय बनेको छ । यसमा विदेशी विद्यार्थी नेपाल आएर अध्ययन गर्न चाहँदैनन् ? नेपाली विद्यार्थी अध्ययनका नाममा विदेश जान लालायित हुने कारण के हो ? आमनेपाली विद्यार्थीलाई नेपालमै उच्च शिक्षा हासिल गराउने खालको क्यालेन्डर विश्वविद्यालयले बनाएको छ त ? आगामी दिनमा उच्च शिक्षाको गुणस्तर सुधार गरेर मात्र विद्यार्थी बिदेसिनबाट रोकिनेवाला छैन । राज्यले यसको पहिचान गर्न आवश्यक छ ।

शैक्षिक पर्यटन भनेको शैक्षिक उद्देश्यका लागि गरिने यात्रा हो । संस्कृतिको अध्ययन इतिहास वा अन्य शैक्षिक विषयका लागि गरिने यात्रा हो । नेपालमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय जस्ता विश्वस्तरीय संस्था छन् । नेपालको समृद्ध सांस्कृतिक र ऐतिहासिक धरोहरले विद्यार्थी र अनुसन्धानकर्ताको ध्यान खिच्न सक्छ । साथै नेपालमा अध्ययनका लागि आउन चाहने विद्यार्थी र अनुसन्धानकर्ताका तुलनात्मक रूपमा किफायती देश हो । पर्वतारोहण र उच्च हिमाली टे«किङले यस अल्पविकसित देशमा ठुलो मात्रामा विदेशी मुद्रा भित्र्याउँछ । नेपालमा गरिने प्रत्येक गतिविधि अनौठो छ । चाहे त्यो उच्च हिमाली चीज कारखाना र कफी पसल भ्रमण गर्ने होस् वा हिमालयमा साइकल चलाउने होस् । नेपालको प्राकृतिक सौन्दर्य अनुपम छ । शैक्षिक पर्यटन पर्यटक र तिनीहरू पुग्ने समुदायका लागि लाभदायक हुन्छ । पर्यटक शैक्षिक पर्यटनबाट घुम्न गएका स्थानको गहिरो ज्ञान प्राप्त गर्न चाहन्छन् । समाजशास्त्री, मानवशास्त्री र इतिहासकारले नेपाल जस्ता राष्ट्रमा नयाँ र रोमाञ्चक कुरा पत्ता लगाइरहन्छन्, जसले सधैँ आफ्ना सांस्कृतिक विशेषता कायम राखेको छ । नेपालको पर्यटन उद्योग तीव्र रूपमा वृद्धि हुँदै छ, वार्षिक ५० लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेका छन् । सरकारले बेलाबेला भ्रमण वर्षको आयोजना पनि गर्दै आएको छ । यस उद्योगमा शैक्षिक पर्यटनको नयाँ भूमिका देखिएको छ । 

प्रत्येक वर्ष लाखौँ अमेरिकी विद्यार्थी विदेशी अध्ययन कार्यक्रममा सहभागी हुन्छन् । नेपालले उचित नीति कार्यान्वयन गर्न सक्यो भने, यसले यो बढ्दो बजारलाई आकर्षित गर्न सक्छ । सफल शैक्षिक पर्यटन उद्योग विकास गर्न पनि सक्छ । नेपालले शैक्षिक पर्यटनको क्षेत्रमा सफलता पाउन केही महìवपूर्ण नीतिगत सूचकलाई अनुसरण गर्नुपर्ने हुन्छ । पहिलो, नेपालले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्न आफ्नो शैक्षिक प्रतिष्ठानहरूलाई प्रवर्धनका रूपमा प्रयोग गर्नु पर्छ । दोस्रो, सरकारले विदेशी विद्यार्थीका लागि भिसा प्रक्रिया सजिलो बनाउनु पर्ने छ । अन्ततः सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी र अनुसन्धानकर्ताका लागि स्वागतयोग्य वातावरण सिर्जना गर्न जरुरी छ । 

नेपाल पहिलेदेखि नै सामुदायिक वन व्यवस्थापन उच्च हिमाली आरोहण, संस्कृति र बौद्ध धर्मको केन्द्र हो । विश्वविद्यालय अनुसन्धान प्रयोगशाला र पेसेवर संस्थाले अन्तर्राष्ट्रिय विद्वान्सँगको सहकार्यलाई बढावा दिएर उत्कृष्टताको केन्द्र स्थापना गर्न सक्छन् । नयाँ प्रविधि र उच्च प्रविधि सहकार्यको आगमनसँगै अनुसन्धान नेपालमा एउटा रोमाञ्चक अवसर पनि हो । अन्तर्राष्ट्रिय नेपाली समुदायले पनि आफ्ना बालबालिकालाई स्वदेशमै अन्तर्राष्ट्रिय अध्ययनका लागि प्रोत्साहित गर्न सक्छन् । शैक्षिक पर्यटनले नेपालमा आवश्यक विदेशी मुद्रा ल्याउने छ र नेपाललाई शिक्षा र अनुसन्धानको विश्व केन्द्रका रूपमा परिचित गराउने छ । 

सरकारले शैक्षिक पर्यटन प्रवर्धन गर्न केही कदम चाल्नु पर्ने छ । पहिलो, विदेशी विद्यार्थी र अनुसन्धानकर्ताका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने छ । दोस्रो, पर्यटन उद्योगले शैक्षिक पर्यटकको आवश्यकता पूरा गर्ने थप सेवा र उत्पादन विकास गर्नु पर्छ । यी कदम उठाइयो भने नेपालले शैक्षिक पर्यटनका लागि प्रमख गन्तव्यका रूपमा आफूलाई स्थापित गर्न सक्छ । यसले देशलाई विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र ज्ञान हस्तान्तरणका अवसर ल्याउने छ ।

नेपाललाई जसरी शैक्षिक पर्यटनको गन्तव्य रूपमा विकास गर्ने हो भने जति नेपाली विद्यार्थी विदेश गएका छन्, उनीहरूकै सहयोगमा विदेशी विद्यार्थी ल्याउन सकिन्छ । अर्कोतर्फ कम्तीमा स्नातक तहसम्म नेपालमै पढ्ने र नेपालमै रमाउने वातावरण सिर्जना गर्नु पर्छ  । नेपालबाट विदेशमा अध्ययन गर्न जाने होइन, विदेशबाट नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउनु पर्छ  । नेपालबाट शिक्षा प्राप्तिका लागि बिदेसिने वार्षिक खर्बौँ रकमलाई नेपालमै राखेर र विदेशी डलर नेपाल भित्र्याइ वर्तमान अवस्थाको जर्जर अर्थतन्त्रलाई सुधार गरी आड, भरोसा र टेवा दिनु पर्छ  । 

यसै गरी, परम्परागत संस्कृति, रीतिरिवाज, जातीय वेशभूषा, भाषा र खानपानसमेत विदेशीका लागि अध्ययनको विषय हुन सक्छ । काठमाडौँका रैथाने संस्कृति, नाँच, नेवारी संस्कृति, पूर्वी नेपालमा राई र लिम्बू जातिका परम्परागत संस्कृति, गुरुङ र मगर समुदायको संस्कृति र परम्परा, थारू समुदायका अध्ययनका विषय हुन् । नेपाली संस्कृति नै अध्ययनको भण्डारण हो । नेपालले यो उचित प्रयोगमा ल्याउन सकेको छैन । यसबारे सही नीति बनाउन सक्नु पर्छ ।   

Author

रमा भट्टराई