काठमाडौँ, जेठ २४ गते । पछिल्लो समय नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको विज्ञले बताएका छन् ।
मानसिक स्वास्थ्यसम्बन्धी काम गर्दै आएको बहुसंस्कृतिक मनोसामाजिक नेपाल(टिपिओ नेपाल)को २० औँ वार्षिकोत्सवको अवसरमा बोल्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छाले पछिल्लो समय नेपाली समुदायमा मानसिक समस्या विकराल बन्दै गरेको बताउनुभयो ।
पछिल्लो समय छोराछोरी रोजगारको सिलसिलामा घरबाट टाढा जाने क्रम बढ्दै गएकाले हरेक घरमा मानसिक समस्या बढ्दै गएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘पछिल्लो समय समाजिक संरचना चाँडो परिवर्तन भएर अगाडि जाँदा मानसिक समस्या थपिँदै गएको छ । युवा जनशक्ति विदेशीएको छ । पारिवारिक बिछोडले मानसिक समस्या बढ्दै गरेको छ ।’’
प्रा.डा. विच्छाले मानसिक स्वास्थ्य बढ्दै गएकाले आयोगको १६ औँ पञ्चवर्षीय योजनामा प्राथमिकतामाका साथ मानसिक स्वास्थ्यलाई राखेको जानकारी दिनुभयो ।
मानसिक स्वास्थ्य प्राथमिक स्वास्थ्यमा परेकाले सरकारले नियमित बजेट विनियोजन गरेको उहाँको भनाइ थियो ।
उहाँले मानसिक समस्याको तथ्याङ्कसहितको सुझाव आए भोलिका दिनमा पोलिसी बनाउन र बजेटिङ गर्न सहज हुने बताउँदै यो विषयमा गहिरो अध्ययन गरेर तथ्याङ्कसहितको सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा योजना आयोगका सचिव मुरारीप्रसाद खरेलले मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा पर्न थालेको बताउनुहुँदै यो सम्बन्धी नीति र बजेटले मात्र केही नहुने कार्यन्वयनमा जोड दिनुपर्ने विचार राख्नुभयो ।
आयोगका सहसचिव राजन पौडेलले पछिल्लो समय वैदेशीक रोजगारी र त्यससँग जोडिएका समस्याले समाजमा मनोसामाजिक समस्या बढ्दै गएको बताउनुभयो ।
त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रा.डा. सरोज ओझाले अहिले पनि हाम्रो समाजमा मानसिक स्वास्थ्य र मानसिक समस्यालाई एउटै तरिकाले हेर्ने चलन रहेको जिकिर गर्नुभयो । उहाँले मानसिक समस्या भएकालाई समाजले हेर्ने दृष्टिकोण नै फरक भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष डा. मिता राणाले मानसिक स्वास्थ्यका विषयमा अझै धेरै बहस आवश्यक भएको बताउनुभयो ।