• २९ भदौ २०८१, शनिबार

चुहावट रोकिने गरी काम गर्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताउनुभएको छ । शुक्रबार आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउनका लागि कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने तथा करदाताको कर सहभागिता लागत घटाउने बताउनुभयो ।  

नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउँदै उहाँले कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने बताउँदै कार्य प्रकृयालाई सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासन कायम गर्ने बताउनुभयो । 

नतिजामा आधारित व्यावसायिक सङ्गठन तथा कार्य विशिष्टीकरणका लागि संस्थागत सुधारमा पनि थप पहल गर्ने बताउँदै अर्थमन्त्री पौडेलले ठुला कर कार्यालयको बक्यौता असुली र बेरुजु फस्र्योटको विशेष अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको छ । चालु आवमा सात खर्ब एक अर्ब रुपियाँ आन्तरिक राजस्वबाट सङ्कलन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले आफ्नो जिम्मेवारी र दायित्व बुझेर काम गर्न निर्देशन दिनुभयो ।