• २९ भदौ २०८१, शनिबार

कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

blog

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनपछि आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ २८ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गर्नुभयो । उहाँले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले सरकारले लिएको राजस्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गर्नुभयो । उहाँले आन्तरिक राजस्व रणनीति कार्यान्वयनका लागि जोड दिनुभयो ।

‘‘कोही पनि साथीहरु सरुवा, बढुवा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीकहाँ नआउनु होला । मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ कि, हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस् । र लक्ष्य पूरा होस् । त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोगका दिन हामी तयार छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ । त्यस हिसाबले अघि बढ्न आग्रह गर्दछु । हामीले भर्खरै आन्तरिक राजस्व रणनीति परिचालन गरेका छौँ । यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहनेछ । रणनीति कार्यान्वयनमा जोड दिनुहोला ।’’

उपप्रधानमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले लक्षित राजस्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिनुभयो ।