• ८ जेठ २०८१, मङ्गलबार

श्रम स्वीकृति पूर्ण अनलाइन

blog

काठमाडौँ, वैशाख २८ गते  । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले जेठ ६ गतेदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृतिको कार्य अनलाइन प्रणालीबाट मात्रै गर्नेगरी तयारी गरेको छ । 

यसअघि पुुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति गर्दै आएको कार्यालयले नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिने तयारी गरेको हो । सो कार्यालयका प्रमुख रमेश अर्यालले आउँदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । 

कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण (आफ्नै पहलमा विदेशबाट भिसा र श्रम स्वीकृति लिएर आउनेहरूका लागि) मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्ण रूपमा अनलाइन प्रणालीबाट मात्र सेवा प्रवाह गर्ने भएको छ । 

कार्यालयका प्रमुख अर्यालले आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटोछरितो रूपमा गुनासोरहित सेवा प्रदान गर्न सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार वैधानिकीकरणमार्फत दिने गरिएको श्रम स्वीकृतिलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकसरह श्रम स्वीकृति दिनेगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएकाले अब वैधानिकीकरणमार्फत श्रम स्वीकृति नहुने तर सो प्रकृतिका काम नयाँ व्यक्तिगत श्रम स्वीकृतिबाट हुनेछन् । 

नयाँ व्यक्तिगत श्रम स्वीकृतिका लागि अनलाइनमा अपलोड गर्नुपर्ने कागजातमा भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारीमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण रहेका छन् । 

श्रम स्वीकृति नलिई घरेलु श्रमिकका रूपमा काम गरेकाहरूको हकमा विदेशमा काम गरी नेपाल आएर फेरि विदेश जान चाहेमा वैदेशिक रोजगारीमा घरेलु श्रमिक पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देशमा रहेको नेपाली दूतावासको सिफारिसपत्र पनि अपलोड गर्नुपर्छ ।

वैदेशिक रोजगारीका नाममा भ्रमण भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्ति अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने प्रवृत्ति बढेकाले सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरेको छ। 

व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका, २०६९ को प्रक्रियाबमोजिम सम्बन्धित देशको नेपाली दूतावासबाट कागजात प्रमाणीकरण गरी ल्याउने देश साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स रहेकोमा २०७९ वैशाखदेखि सरकारले क्रोएसिया, पोल्यान्ड, रोमानिया, हङ्गेरी, बेलारुस, माल्दोभा, अल्बानिया र स्लोभाकियालाई थप गरेको छ । 

प्रमाणीकरणका लागि नेपाली दूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले पेस गर्नुपर्ने कागजात राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौतापत्रको प्रतिलिपि लगायतका विवरण रहेका छन् । यी कागजात सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा आउनुपर्ने हुन्छ । 

केही सेवाग्राहीले श्रम स्वीकृतिका लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएको पाइएकाले अनलाइन आवेदन स्वीकृति भएपछि मात्रै टिकट लिन आग्रह गरिएको कार्यालय प्रमुख रमेश अर्यालले बताउनुभयो । 

उहाँका अनुसार पूर्ण रूपमा अनलाइनबाट श्रम स्वीकृतिको काम गर्दा आवेदनको क्रम सङ्ख्याअनुसार श्रम स्वीकृतिको काम हुने भएकाले पछाडिको आवेदनलाई अगाडि ल्याउन सकिँदैन । अधिकांश सेवाग्राहीको अनलाइन 

आवेदन गरेको दिनमा नै श्रम स्वीकृति हुने गरी काम भए पनि केही सेवाग्राहीको कागजात अपुग हुने, अस्पष्ट हुने लगायतका कारणले आवेदन अस्वीकृत गर्नुपर्ने हुन्छ । प्रमुख अर्यालले यस्ता आवेदनमा म्यासेज पठाएर विवरण प्राप्त गर्दा समय लाग्ने तथा कहिलेकाहीँ सर्भरलगायत प्राविधिक कारणले समस्या हुन सक्ने भएकाले तीन कार्य दिनअघि अनलाइन आवेदन दिनुपर्नेसमेत जानकारी गराउनुभयो । 

श्रम स्वीकृति गर्दा म्यादी जीवन बीमाको शुल्क उमेरअनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषका लागि एक हजार पाँच सय रुपियाँ शुल्क लाग्ने कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार जीवन बीमा र  कल्याणकारी कोषसमेत गरी ३५ वर्षसम्मका लागि पाँच हजार २०८ रुपियाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि छ हजार ४३१ रुपियाँ र ५१ वर्षदेखि माथिका लागि १० हजार ९६३ रुपियाँ शुल्क लाग्छ । 

आ.व. २०७७/७८ मा वैदेशिक रोजगारीको लागि एक लाख ६७ हजार जनाको श्रम स्वीकृति भएकोमा चालू आर्थिक वर्षको १० महिनामा पाँच लाखभन्दा बढीको श्रम स्वीकृति भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो ।