• १४ पुस २०८१, आइतबार

सशस्त्र प्रहरी बल छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल : गृहसचिव दुवाडी

blog

गृहसचिव गोकर्णमणि दुवाडीबाट प्रधान कार्यालयको निरीक्षण तथा सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, भदौ २७ गते । गृहसचिव गोकर्णमणि दुवाडीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायत सशस्त्र प्रहरी बल, नेपालद्वारा देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र सङ्गठनको समस्या र चुनौतीहरूका बारेमा जानकारी लिनुभएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो ।

कार्यक्रममा गृहसचिव दुवाडीले देश र जनताको खातिर कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाउनु भएका अमर सशस्त्र प्रहरी कर्मचारीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल, नेपालले स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको र देशमा शान्ति सुरक्षा, सुव्यवस्था तथा अमनचैन कायम गर्न सदैव क्रियाशील रूपमा कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गर्नुहुँदै सीमा सुरक्षामा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार लगायतका विविध क्षेत्रहरूमा गर्दै आइरहेका कार्य प्रशंसनीय रहेको बताउनुभयो ।


गृहसचिव दुवाडीले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले राजस्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुहुँदै सदैव जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सकेमा मात्र कार्य क्षेत्रमा परिचालित भएको सार्थकता हुने बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालमा स्रोतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीहरूको सेवा, सुविधा र वृतिविकासमा मन्त्रालयको सदैव साथ रहने बताउनुहुँदै राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारीता र जबाफदेहितासहित थप प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।   

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दुवाडीबाट भएको निर्देशन लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरूलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै आफू परिचालित कार्यक्षेत्रमा इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।


उहाँले सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीहरूलाई इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा, सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीहरूमा परिणाममुखी कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले राज्यले दिएको प्रमुख जिम्मेवारीमध्ये सीमा सुरक्षामा सीमा स्तम्भको रेखदेख तथा मर्मत सम्भार, विभिन्न प्रकारका प्रभावकारी कार्यक्रमहरूका साथै लागूऔषध तथा राजश्व चुहावट नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेको र विओपीको लागि सशस्त्र प्रहरी बल, नेपाललाई जग्गा तथा भौतिक संरचनाको आवश्यकता रहेको समेत बताउनुभयो ।

उहाँले सङ्गठन तथा सशस्त्र प्रहरी कर्मचारीहरूको हकहितको लागि आवश्यक छलफल तथा राय सुझाव सङ्कलन गरी कार्य गर्दै आइरहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरीको सम्पूर्ण फौजलाई चेन अफ कमाण्डमा रही सदैव इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले प्रधान कार्यालयस्थित केन्द्रीय परिचालन कक्ष, एपिएफ म्युजियम र सशस्त्र प्रहरी बल नेपालद्वारा हाल प्रयोगमा ल्याइरहेका विपद् उद्धार सामाग्रीहरूको अवलोकन गर्नुका साथै सशस्त्र प्रहरी बल नेपालसम्बन्धी विविध गतिविधिहरूको समेत प्रस्तुतीकरणमार्फत जानकारी लिनुभएको थियो ।

कार्यक्रम देशभरका इकाईहरूमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी सञ्चारद्वारा प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, नेपाल सरकार गृह मन्त्रालयका पदाधिकारीहरू लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा काठमाडौँस्थित सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो ।