• ५ जेठ २०८१, शनिबार

परिवर्तनकारीको पक्षमा लाग्न प्रचण्डको आग्रह

blog

रौतहटको दुर्गा भगवती गाउँपालिकाकाे सभामा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः सञ्जयकुमार मिश्र

सञ्जयकुमार मिश्र 

गौर, वैशाख २७ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा प्रतिगमनकारीलाई परास्त गरेर परिवर्तनकारीको पक्षमा लाग्न आग्रह गर्नुभएको छ।  रौतहटको दुर्गा भगवती गाउँपालिकाको गंगा पिपरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विभिन्न षड्यन्त्र रच्दै अहिलेको संविधान र व्यवस्थालाई पल्टाउन खोजिरहेको आरोप लगाउँदै स्थानीय तहको निर्वाचनमा त्यस्ता संघीयता विरोधी तत्त्वलाई तह लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुती प्रदान गर्न माओवादी केन्द्रको पक्षमा लाग्न जोड दिनुभयो।

तराई मधेसमा नागरिकता समस्या अहिलेको गठबन्धकै सरकारले हल गरेर अघि बढ्ने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो।  अध्यक्ष प्रचण्डले संसद सुचारु भएपछि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने पक्षमा माओवादी केन्द्र सक्रिय रहेको उल्लेख गर्नुभयो। 

  प्रचण्डले गाउँगाउँमा स्थापित भएको सिंहदरबारलाई सुदृढ व्यवस्थित पार्नका  प्रतिगमनलाई परास्त गरी संघीयताको पक्षमा माओवादी केन्द्रका उम्मेदवारलार्ई विजयी बनाउन आह्वान गर्नुभयो ।

कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष उम्मेदवार शम्भु सिंह, संविधानसभा सदस्य अशोक जयसवाल, पूर्वराज्यमन्त्री सत्यनारायण भगत, वडाध्यक्षको उम्मेदवार धर्मेन्द्रकुमार झा सहितका नेता एवं कार्यकर्ताको उपस्थिति थियो।