• ११ मंसिर २०८१, मङ्गलबार

नेपालटार-मङ्गलबारे सडक मर्मत गर्न माग

blog

सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाउन आएका नेपालटार–मङ्गलबारे सडकका उपभोक्ताहरु । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, भदौ २४ गते । इलामको नेपालटार–मङ्गलबारे कालोपत्रे सडक हिलाम्य भएपछि स्थानीय उपभोक्ताहरू सडक मर्मतको माग गर्दै सदरमुकाम आएका छन् । करिब दश वर्ष अगाडि कालोपत्रे गरिएको उक्त सडक अहिले हिलाम्य भएपछि नेपालटार–मङ्गलबारे आवतजावतमै समस्या भएको हो । 

सडक हिलाम्य हुँदा विद्यालय जाने बालबालिकादेखि कृषि उत्पादन ढुवानीमा समस्या भएको देउमाई नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री विष्टले बताउनुभयो। "अहिले विद्यालय जाने बालबालिकालाई सडक पार गर्न ठुलो समस्या भएको छ, सडकको तल्लो छेउ र माथिल्लो छेउका छिमेकीको आवतजावत टुटेको छ," उपाध्यक्ष बिस्टले भन्नुभयो, "मङ्गलबारेदेखि पश्चिम क्षेत्रमा उत्पादन भएका दूध, चिया, तरकारीलगायतका कृषि उत्पादनको ढुवानी गर्न नसक्ने अवस्था छ ।"

नेपालटार–मङ्गलबारे सडकमा दैनिक दुई सय सवारीसाधन आवतजावत गर्ने गरेकोमा अहिले यातायात नै ठप्प हुने अवस्था आएको इलाम नगरपालिका– १ का कार्यवाहक अध्यक्ष मोहन गुरुङले बताउनुभयो । "पहिला सडक कार्यालयले मर्मतको काम गरेको थियो, त्यो पनि टिक्न सकेन, अहिले मोटर साइकल त कुद्ने अवस्था नै छैन, पैदल यात्रुलाई उस्तै गाह्राे छ," सदरमुकाम स्थित सडक डिभिजन कार्यालयमा ज्ञापन पत्र बुझाउन आइपुग्नु भएका गुरुङले भन्नुभयो, "तत्कालका लागि आवतजावतमा सहज बनाउनुपर्ने अवस्था छ ।" 

जनप्रतिनिधिसहित सदरमुकाम आएका उपभोक्ताहरुले सडक डिभिजन र जिल्ला प्रशासन कार्यालयमा हिलाम्ये सडकको विषयमा ज्ञापनपत्र बुझाएका छन्। यसअघि सडक बिग्रिएपछि सडक डिभिजन कार्यालयबाट मर्मतका लागि ठेक्का लगाइएको थियो । 

धनुषाको केएम कन्स्ट्रक्सने पाएको ठेक्कामा ०७९ फागुनमा, ०८० असार २० सम्म काम सक्ने सम्झौता भएको थियो । समयमा काम नसकिएपछि पुनः म्याद थपिएर गत जेठ सम्म काम गर्ने समय बढाइएको थियो । उक्त समयमा करिब ७२ प्रतिशत मात्र काम भएको डिभिजन कार्यालयका साइड इन्जिनियर मनीषा कट्टेलले बताउनुभयो । 

"करिब ९७ लाखको ठेक्का थियो ७२ प्रतिशतमात्र काम भयो, चालु आर्थिक वर्षमा भने यो सडकका लागि माथिबाट रकम छुट्टिएको छैन , त्यही कारण हामी अब ठेक्का तोड्ने प्रक्रिया छौँ," इन्जिनियर मनीषा कट्टेलले भन्नुभयो, "उक्त सडकमा पानी बढी हुने मुख्य कारणले राम्रोसँग काम हुन सकेको छैन ।"

"पहिला पानी कटाउनुपर्ने बाध्यता छ, त्यसपछि मात्र त्यहाँ राम्रो काम हुन सक्छ," कट्टेलले भन्नुभयो, "गएको वैशाखमा हामीले नेपालटार–मङ्गलबारे १२ किलोमिटर सडकको पूर्ण काम गर्न १० करोड ५० लाखको इस्टमेट फाइल तयार गरेर केन्द्रमा पठाएका छौँ ।"

सडकका लागि मेची राजमार्गमात्रै कार्यक्षेत्र तोकिएको र सहायक मार्ग नपर्ने हुँदा माथिबाट तोकेर रकम नपठाउन्जेल काम गर्न समस्या रहेको डिभिजन कार्यालयका लेखा अधिकृत प्रेम सुब्बा बताउनुहुन्छ । "अहिले पनि कार्यालयले त्यहाँ गर्न सक्ने काम गर्न र उपभोक्तालाई सहज बनाउन भने डिभिजन कार्यालय तयार छ," सुब्बाले भन्नुभयो, "जिल्ला, प्रशासन, स्थानीय पालिका र जनप्रतिनिधिहरू सबै बसेर यो सडकको समाधानका लागि पहल गरौँ ।" 

इलाम नगरपालिका र देउमाई नगरपालिकाले केही रकम छुटाएर सडक मर्मत गर्न पहल गरेप नि त्यो अपुग हुने गरेको छ । पहिला सङ्घीय सरकारबाट कालोपत्रेको काम भएको यो सडक अहिले कसको जिम्मामा छ भन्ने पनि अन्योल छ । स्थानीय पालिका र प्रदेश सरकार कसैको पनि जिम्मामा यो सडक छैन । केही समय अघि गृह जिल्ला इलाम आइपुग्नुभएका कोशी प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री रामबहादुर रानाले नेपालटार–मङ्गलबारे सडक प्रदेश सरकार सँग पनि आधिकारिक जिम्मामा नआएको बताउनुभयो । 

"माथिबाट यो सडकको कागज पत्र प्रदेशलाई आएको छ । तर कुनै पनि दायित्व प्रदेशलाई दिइएको छैन," मन्त्री रानाले भन्नुभयो, "दायित्व प्रदेशलाई नदिँदा सडक अलपत्र जस्तै भएको छ ।"