• २३ भदौ २०८१, आइतबार

स्वागत समारोहको आयोजना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २२ गते । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र सहयोग आदान प्रदान अझै प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ । 

काठमाडौँस्थित पाकिस्तानी दूताबासले पाकिस्तानको रक्षा तथा सहिद दिवसका अवसरमा आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले आर्थिक, व्यावसायिक, शिक्षा, प्राविधिक, सैन्य सहयोग एवं द्विपक्षीय सम्बन्धमा साझेदारी भइरहेको बताउनु भएको हो । 

उहाँले सङ्कटका बेला पाकिस्तानले दिएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले दुई देशबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । 

राजदूत अब्रार एच हाश्मीले मातृभूमिको रक्षा, शान्ति र स्थिरता सुनिश्चित गर्न जीवन आहुति दिने सम्पूर्ण सहिदको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

उहाँले पाकिस्तानले शान्ति र स्थायित्वका लागि प्रतिवद्ध रहेको प्रस्ट पार्दै आतंकवादविरुद्ध विश्वव्यापी लडाइँमा महत्वपूर्ण भूमिकामा रहँदै आएको बताउनुभयो । उहाँले पाकिस्तानले आफ्नो सार्वभौम सत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतामा कहिल्यै सम्झौता नगर्ने प्रस्ट पार्नुभयो । 

पाकिस्तानी दूतावासका अनुसार कार्यव्रmममा उच्चस्तरीय नेपाली सैनिक तथा निजामती अधिकारी, विभिन्न देशका राजदूत, पूर्व प्रधानसेनापतिहरू, शिक्षाविद्, कूटनीतिज्ञ, रक्षा सहचारी, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिसहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । कार्यव्रmममा पाकिस्तानको सशस्त्र सेना, रक्षासँग सम्बन्धित उत्पादन र पाकिस्तानको संस्कृतिबारे वृत्तचित्र प्रस्तुत गरिएको थियो ।