• ७ फागुन २०८२, बिहिबार

धाम बिकासका लागि ज्ञान महायज्ञ

blog

महायज्ञ शुभारम्भको क्रममा निकालिएको शोभा कलश यात्रा । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन ७ गते । परोपकार कुञ्ज धामको थप बिकासका लागि बुटवल उपमहानगरपालिका –१५ मा धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ । 

गत साल पनि महायज्ञ भएको धाममा यस पटक दोस्रो संस्करणको महायज्ञ सुरु भएको हो । महायज्ञले धर्मको रक्षा साथै सामाजिक सेवाको भावनालाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।

राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको तत्वावधानमा आयोजना गरिएको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो । 

धामको परिकल्पनाकार तथा कथा वाचक भागवत भाष्कर कमलनयन गौतमका अनुसार करिब २० करोडको गुरुयोजना अनुसार परोपकार कुञ्ज धामको संरचना विस्तार गर्नुका साथै समाजमा धार्मिक चेतना फैलाउने, सामाजिक सेवा, ध्यान तथा आध्यात्मिक साधनाको केन्द्रको रूपमा विकास गर्ने योजना अगाडि बढाइएको छ । 

महायज्ञको उदघाटन गर्दै बुटवल नगर प्रमुख खेलराज पाण्डेयले धार्मिक तथा परोपकारी अभियानले समाजमा सकारात्मक सोच र सहकार्यको भावना बलियो बनाउने बताउनुभयो । उहाँले परोपकार कुञ्ज धामजस्ता संरचनाले भविष्यमा सामाजिक सेवाका धेरै क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

पाण्डेयले भन्नुभयो, ‘धर्म केवल पूजा पाठमा सीमित होइन, यसले मानव सेवाको मार्ग पनि देखाउँछ, परोपकार कुञ्ज धाम निर्माण भएपछि यहाँ शिक्षा, स्वास्थ्य सचेतना, ध्यान तथा सामाजिक सहयोगको कार्यक्रम निरन्तर सञ्चालन गर्न सकिने छ ।’ 

कार्यक्रममा नगर प्रवक्ता शिव रानाले धर्म र सामाजिक सेवा एक अर्काका पूरक भएको उल्लेख गर्नुभयो । उहाँले धार्मिक आयोजनाबाट उठेको सहयोगलाई पारदर्शी रूपमा प्रयोग गरी समाजका विपन्न वर्गलाई लाभ पुग्नेखालका काममा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । 

कथा वाचक भागवत भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट संगीतमय कथा वाचन सुरु भएको छ । उहाँको प्रवचनले भक्तजनलाई आध्यात्मिक रूपमा प्रेरित गर्नुका साथै जीवनमा सत्य, करुणा र सेवाको महत्व बुझाउने उद्देश्य राखेको छ । महायज्ञमा दैनिक कथा वाचन, कथा श्रवण, भजनकीर्तन तथा विशेष पूजा कार्यक्रम सञ्चालन भइरहेको यज्ञका सारथी हरिध्वज मल्लले बताउनुभयो ।