माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागनु ७ गते । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा जाउलाखेल युथ क्लब १४ वर्षपछि फाइनल पुगेको छ । बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा आभा फुटबल क्लब उज्बेकिस्तानलाई १–० गोलले पराजित गरी फाइनल यात्रा तय गरेको हो ।
खेलको ५२ औँ मिनेटमा जाउलाखेलका धर्वेन्द्र कुँवरले पोस्टमा प्रहार गरेको बललाई बिपक्षी आभाका खेलाडी खुसानले रोक्न खोज्दा पोस्टमा छिरेको थियो । उहाँको यो आत्मघाती गोल हो । खेलमा आभाका केही राम्रा प्रयास गोलमा परिणत हुन सकेन ।
आभाका खेलाडी कारिलोभले प्रहार गरेको बल एक पटक फस्ट बारमा र अर्को पटक क्रसबारमा लागेर रिबाउन्ड भएको थियो । अर्को कडा प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । बिहीबारको खेलमा जाउलाखेलका जोखिदजोद प्लोयर अफ दी म्याच हुनुभयो ।
खेलको ६५ मिनेटमा जाउलाखेलका युवराज ढकालले आभाका खेलाडी सार्दोरबिकलाई मैदानमा हात हालेपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले रातो कार्ड देखाउनुभएको थियो । शनिबार फाइनल खेल आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लबबिच हुनेछ ।
१२ औँ आहारारा गोल्डकपको उपाधि जितेको सहारा ९ वर्षपछि फाइनल पुगेको छ । २०७३ साल सहारा उपविजेता बनेको थियो । जाउलाखेल अहिलेसम्म आहारारा गोल्डकप उचाल्ने सकेको छैन । बुधबार भएको खेलमा आयोजक सहारा मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथमा पराजित गरी फाइनल पुगेको हो ।