• २२ भदौ २०८१, शनिबार

असोज पहिलो साता काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन

blog

फाइल तस्बिर ।

काठमाडौँ, भदौ २२ गते। असोजको पहिलो साता काठमाडौँमा बालसाहित्य सम्मेलन हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा असोज ४ र ५ गते दुई दिवसीय अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुन लागेको हो।

प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सम्मेलनमा नेपालका सयभन्दा बढी सर्जकको सहभागिता रहनेछ। सम्मेलनमा नेपालसहित भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया, नेदरल्यान्ड, डेनमार्कलगायतका देशबाट २५ भन्दा बढी विदेशी सर्जकको सहभागिता रहनेछ। 

सम्मेलन सफल बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समितिले काम गरिरहेको छ। समितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ अगीब बनेपाली, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, महासचिव विजयराज आचार्य, चित्रकार केके कर्माचार्य, ग्रन्थपाल भोला श्रेष्ठ, रुम टु रिडका अनन्त वाग्ले र सञ्जु बज्राचार्य, समालोचक महेश पौड्याल, बालसाहित्यकार अनुराधा र प्रतिष्ठान कर्मचारी राजकुमार श्रेष्ठ सदस्य हुनुहुन्छ।

महेश पौड्यालको संयोजकत्वमा कार्यक्रम उपसमिति, भोला श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति, अनन्त वाग्लेको संयोजकत्वमा प्रचार तथा प्रकाशन उपसमिति र अनुराधाको संयोजकत्वमा अतिथि स्वागत तथा व्यवस्थापन उपसमिति गठन गरिएको छ।  रूम टू रीड नेपालका निर्देशक पुष्करलाल श्रेष्ठले बाल साहित्यको व्यक्तिगत प्रभावलाई जोड दिँदै भन्नुभयो, “म अझै पनि म बाल्यकालमा पढेको पहिलो पुस्तक र त्यसका सुन्दर चित्रणहरू सम्झन्छु। बालबालिकामा पढ्ने रमाइलोपन प्रदान गर्नु उनीहरूको समग्र विकासका लागि अत्यावश्यक छ। यस सम्मेलनले यस्तो अर्थपूर्ण बाल साहित्य सिर्जनाको महत्त्वलाई उजागर गरी हाम्रो देशभित्रको प्रणालीलाई बलियो बनाउनेछ।” 

दुई दिने सम्मेलनमा बालसाहित्यका विभिन्न आयामलाई समेटेर स्वदेशी तथा विदेशी गरी दुई दर्जनजति कार्यपत्र प्रस्तुत हुनेछन्। 


सम्मेलनमा अनेसास, पहिलो पाइला, थाङ फाउन्डेसन, शान्ति भोलेन्टियर्स, एसिया फाउन्डेसनलगायतका संस्था सह आयोजक रहनेछन्। सम्मेलनमा पुस्तक प्रदर्शनी, कथावाचन, बालचित्रकला, प्यानल छलफल लगायतका कार्यक्रम रहेका छन्।