• २२ भदौ २०८१, शनिबार

हलेसीमा साढे ८ करोडको योजना शिलान्यास

blog

हलेसी मन्दिर प्रवेशद्वारमा योजना शिलान्यास गर्नुहुँदै पूर्व मन्त्री सीता गुरुङ लगायत।

राजकुमार भट्टराई 

खोटाङ, भदौ २२ गते। प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा साढे ८ करोडको योजना शिलान्यास भएको छ। हलेसी बजार परिसर सडक ढलान, पर्यटकीय स्थल रक गार्डेन जाने सडक ढलान लगायतको योजना पूर्व सहरी विकास मन्त्री माननीय सीता गुरुङले शिलान्यास गर्नुभएको हो।

चन्द्र ज्योति कन्स्ट्रक्सनले भ्याटसहित ८ करोड, ३९ लाख, ५१ हजार ७७४ रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त योजना अन्तरगत बजार एवम् मन्दिर परिसरको सडक ढलान गरेर त्यसमाथि आकर्षक ढुङ्गा बिछ्याइने छ। सोही योजना अन्तरगत मध्यपहाडी लोकमार्गबाट पर्यटकीयस्थल रक गार्डेन जाने १२ सय मिटर सडक ढलान हुनेछ। यस्तै, हलेसी प्रवेश गेट नजिकै सवारी साधन पार्किङ स्थल निर्माण हुने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इन्जिनियर गणेश पाण्डेले बताउनुभयो। 

२०८१ जेठ २९ गते ठेक्का सम्झौता भएको उक्त योजना आगामी असार मसान्तसम्म सक्नुपर्ने छ। सम्झौता मिति भित्र सम्पन्न गर्ने गरी काम सुरु भइसकेको निर्माण व्यवसायीले बताएका छन्। योजना शिलान्यास गर्नुहुँदै पूर्व मन्त्री गुरुङले धार्मिक एवं पर्यटकीयस्थल हलेसी अब थप व्यवस्थित हुने बताउनुभयो। गुरुङ मन्त्री हुँदा गत आर्थिक वर्ष २०८०/०८१ मा उक्त योजनाका लागि बजेट विनियोजन भएको थियो। 

दैनिक रूपमा देश विदेशबाट दर्शन एवं भ्रमण गर्न हलेसीमा पर्यटक आउने गरेका छन्। तर, मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा असहज हुने गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो। शिलान्यास भएको योजना सम्पन्न पश्चात् हलेसी मन्दिर परिसर हिलो र धुलो मुक्त हुने मेयर राईको भनाइ छ। हलेसी नजिकै रहेको पर्यटकीयस्थल रक गार्डेनमा जाने सडकसमेत उक्त योजनाले ढलान भएपछि पर्यटकलाई सहज हुने छ। साथै हलेसीमा पार्किङको समस्या रहेको छ। आगामी वर्षबाट त्यो समस्या पनि हल हुने मेयर राईले बताउनुभयो। 

उक्त योजनाले हलेसीको मुहार फेर्नुका साथै समग्र जिल्लाको विकासमा ठुलो टेवा पुग्ने प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, राप्रपा खोटाङका अध्यक्ष ललित राई लगायतले बताउनुभएको छ।