• २६ जेठ २०८२, सोमबार

यु–१४ विद्यालय खेलकुद : एथलेटिक्समा लुम्बिनी च्याम्पियन

blog

एथलेटिक्समा दोहोरो स्वर्ण जित्न सफल अनुजा थारू चौधरी (बायाँ) र चादनी पासी ।

काठमाडौँ, जेठ २६ गते । लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतसाथ दोस्रो भयो । गण्डकी प्रदेश र मधेश प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कांस्यसाथ संयुक्त रूपमा तेस्रो भयो ।

१२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले एक एक स्वर्ण जित्यो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तिम दिन सामेबार छात्र/छात्रामा तीन तीन  गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

छात्र दुई सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो हुनुभयो । उहाँले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गर्नुभयो । मधेशका आयुश चौधरी दोस्राे तथा कोशीका नितेश भट्टराई तेस्रो हुनुभयो । 

सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारू चौधरी पहिलो हुनुभयो । अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिनुभयो । कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेशकी वर्षा योञ्जन तेस्रो बननुभयो । 

प्रतियोगिताको छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जित्नुभयो । उहाँले दुई मिनेट ०७.४ सेकेन्ड समय निकाल्नुभयो । कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य हात पार्नुभयो ।

छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहनुभयो । कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो हुनुभयो । 

छात्र चार गुणा एक सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रह्यो । छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात रहे । 

बास्केटबल : कोशी र बागमतीलाई उपाधि

यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमतीले जितेका छन् । कोशी छात्र तथा बागमती छात्रामा च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले हरायो । लुम्बिनी तेस्रो भयो । छात्राको उपाधि भिडन्तमा बागमतीले कर्णालीलाई १५–३ ले हरायो ।

कोशीले तेस्रो स्थानमा चित्त बुझायो । छात्र/छात्रा दुवैमा सातै प्रदेशका टिम सहभागी थिए ।