सचिन पोख्रेल
विराटनगर, जेठ २६ गते । कोशी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सोमबार यहाँ सम्पन्न भएको छ । प्रदेश विपत् परिषद्को सो बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बसेको थियो ।
बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विपद् बिमा र स्थानान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
सो बैठकले विपतको क्षति कम गर्नका लागि विभिन्न सात महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले चालु आर्थिक वर्षमा राहत सामग्री र रकम गरेर वितरण गरिएको ७५ लाख ८० हजार बराबरको खर्च समेत अनुमोदन गरेको छ । बैठकले प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्य योजना २०८२ र मनसुन पूर्व तयारी प्रतिकार्य प्रदेश कार्ययोजना २०८२ लाई पारित गरेको छ । बजेट र कार्यक्षमता हेरेर विपद्को काममा तत्कालै जुट्न उहाँले आग्रह गर्नुभयो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागी बाढी पहिरो चट्याङ र विस्फोटमा परी मृत्यु ३४ जनालाई राहत रकम वितरण गरिएको छ । त्यस्तै निजी आवास बनाउन ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिनुभयो । कोशी प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब ४ हजार १५१ परिवारहरू रहेका पनि बताइएको छ ।
सो बैठकमा प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवका साथै विभिन्न सुरक्षा निकायका कोशी प्रदेश प्रमुख र अन्य सरोकारवाला पदाधिकारीसमेतको उपस्थिति रहेको थियो ।