• २२ भदौ २०८१, शनिबार

शिक्षक पाउनै मुस्किल

blog

तानसेन समाचारदाता

तानसेन, भदौ २२ गते । पाल्पाको ग्रामीण क्षेत्रका विद्यालयमा महत्वपूर्ण विषयको पठनपाठन प्रभावित हुने गरेको छ । विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक व्यवस्थापन गर्न नसक्दा पठनपाठन प्रभावित बनेको हो । यी विषयको शिक्षकका लागि पटक पटक विज्ञापन गरिए पनि शिक्षक अभावले दरखास्त नपरेको विद्यालयले गुनासो गरेका छन् । 

ग्रामीण क्षेत्रका विद्यालयले चार/पाँच पटकसम्म विज्ञापन गर्दा पनि दरखास्त नपरेपछि अन्य विषयको शिक्षकबाट कक्षा सञ्चालन गर्न बाध्य भएका छन् । कतिपय विद्यालयमा पठनपाठन नै प्रभावित हुने गरेको छ । 

विज्ञान, गणित र अङ्ग्रेजी शिक्षकका लागि पटक पटक विज्ञापन गर्दा पनि दरखास्त नपरेर हैरान भएको माथागढी–५, हात्तीलुङस्थित हात्तीलुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक उमा थापाले बताउनुभयो । 

माध्यमिक विद्यालयमा विषयगत शिक्षक दरबन्दी नभएको अवस्थामा अस्थायी दरबन्दी, राहत, पालिका र सङ्घले अनुदान दिएको छ । सोही अनुदानबाट विषयगत शिक्षकको व्यवस्थापन गरिएको छ । कतिपय विद्यालयमा मावि तहको कुनै पनि दरबन्दी नहुँदा राहत र अनुदानबाट शिक्षकको व्यवस्था गरिएको छ । 

पटक पटक विज्ञापन गरेर शिक्षक राखे पनि उनीहरू टिकेर बस्ने अवस्था छैन । शिक्षक स्थायी रूपमा विद्यालयमा नबस्दा विद्यार्थीले एक शैक्षिक सत्र पनि पूरा पढ्न नपाएको नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य रामप्रसाद ढकालले बताउनुभयो । सहरी क्षेत्रमा जसोतसो शिक्षक व्यवस्थापन भए पनि ग्रामीण क्षेत्रका विद्यालयले पछिल्लो एक दशकदेखि शिक्षक अभाव झेल्दै आएको उहाँले बताउनुभयो । 

शिक्षक अभाव कम गर्न शिक्षक छनोटमा विज्ञान, गणित र अङ्ग्रेजी विषयको अध्यापन अनुमतिपत्र अनिवार्य गर्न नहुने शिक्षकहरू बताउँछन् । यस्तै शिक्षक दरबन्दी मिलान गरेर तत्काल आवश्यक भएको स्थानमा शिक्षकको व्यवस्थापन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । 

प्रत्यक्ष मार विद्यार्थीलाई

शिक्षकको व्यवस्थापन असहज बन्दै जाँदा यसको प्रत्यक्ष प्रभाव विद्यार्थीमा परेको छ । जिल्लाका आधारभूत विद्यालय र माध्यमिक विद्यालयका विद्यार्थीले विज्ञान, गणित र अङ्ग्रेजी विषय शिक्षकको पूरा पढाइ नपढी शैक्षिक सत्र गुजार्नुपर्ने बाध्यता छ । 

अस्थायी, राहत र अनुदानबाट शिक्षकको व्यवस्थापन भए पनि शिक्षकहरू शैक्षिक सत्रको पूरा अवधि बस्ने अवस्था नहुँदा विद्यार्थी मारमा परेको तिनाउ–५ स्थित बुद्ध विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुव पङ्गेनीले बताउनुभयो । 

राहत र अनुदानमा नियुक्त गरेका शिक्षक केही महिनापछि सुगम स्थान वा स्थायी दरबन्दीमा नाम निकालेर अन्तै जाने गरेको उहाँले बताउनुभयो । विज्ञापनबाट शिक्षक व्यवस्थापन नहुँदा प्रावि तहको शिक्षकलाई माथिल्लो कक्षा पढाउन दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।