• १२ वैशाख २०८१, बुधबार

निर्वाचन विरोधी गतिविधि नगर्न गृहको आग्रह

blog

काठमाडौं, वैशाख २६ गते । गृह मन्त्रालयले स्थानीय निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत मन्त्रालयले वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा हरेक नागरिकले राजनीतिक अधिकार स्वरुप प्राप्त मताधिकारको स्वतन्त्र रुपले प्रयोग गर्न पाउनुपर्ने उल्लेख छ । 

यस निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था कायम गर्न देशभर दुई लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी र करिब तीन लाखको हाराहारीमा कर्मचारी परिचालन गरिएको मन्त्रालयले जनाएको छ । तर, केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरुबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना भएका सूचना प्राप्त भएका छन् भन्दै मन्त्रालयले त्यस्ता कार्य तत्काल रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । 

मन्त्रालयले स्वतन्त्ररुपमा मतदाताले आफ्ना प्रतिनिधि छनौट गर्न पाउने नैसर्गिक अधिकार रहेकाले त्यसलाई  प्रभावित पार्ने काम भएमा जो कोही पनि कानूनको कारबाहीको भागेदार हुने र त्यस्तो छुट कसैलाई नहुने स्पष्ट पारेको छ । गृह मन्त्रालयले यसका लागि आवश्यक सहजीकरण गर्न राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालना गरी सहयोग गर्न समेत अनुरोध गरेको छ ।