• ५ जेठ २०८१, शनिबार

डडेलधुराको विकासका लागि दृढ छु : सभापति देउवा

blog

गन्यापधुरा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवा । तस्बिर सौजन्य : नैनसिंह महरको फेसबुकबाट ।

पुष्कर भण्डारी

डडेल्धुरा, वैशाख २६ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको विकासका लागि आफ्नो दृढता पुनः दोहो¥याउनु भएको छ । उहाँले मतदातासँग विकासका लागि नेपाली काँग्रेसलाई जिताउन आग्रह पनि गर्नुभएको छ । 

सभापति देउवाको घर भएको गन्यापधुरा गाउँपालिकाको वडा नं २ बडालमा सोमबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो, ‘‘यही मेरो घर हो र गाउँ पनि हो, यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्ने छु ।’’

नेपाली काँग्रेस बिपीका नामबाट करुवा चुनाव चिह्न लिएर उम्मेदवार बनेकाहरू एमालेलाई सहयोग गर्न आएको उल्लेख गर्दै सभापति देउवाले त्यो भ्रम भएकाले कोही कसैका पनि कुरा नसुनी काँग्रेसलाई जिताउन स्थानीय मतदातालाई आग्रह गर्नुभयो ।  

आफ्नो गाउँ ठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्की र ज्ञानु सेटी देउवालाई जिताउनु होला भन्दै सभापति देउवाले भन्नुभयो, ‘‘पहिले म विद्यालय बढ्दा हिँडेर जान्थेँ । अहिले सबै ठाँउमा सडक पुगिसकेका छन् र ती कच्च छन् र अब कालोपत्रे गर्नुपर्ने छ । त्यो सबै मैले गर्ने हो । भातकाँडा–रुवाखोला–बडाल–रेलगाउँसम्मको सडकलगायतको कालोपत्रे गर्ने छौं ।’’ 

उहाँले गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको मटेला गाउँमा रहेको आफ्नो घरलाई पुनः बनाउनेसमेत जानकारी दिनुभयो । तत्कालीन विद्रोही समूह माओवादीले २०५८ सालमा घरमा आगो लगाई ध्वस्त बनाएको घरलाई आफूले पुनः बनाउने सभापति देउवाले बताउनुभयो । 

कोरोना सङ्क्रमणको जोखिम व्यवस्थापन गर्न सबै आम नागरिकलाई खोप पुगाई सकेको उल्लेख गर्दै उहाँले विश्व स्वास्थ्य सङ्गठनका अध्यक्षले राम्रो काम गरेको भन्दै नेपाललाई पुरस्कृत गरेको स्मरण गराउनु भयो ।