काठमाडौँ, भदौ १८ गते । बाल सुधारगृह मोरङ (विराटनगर) बाट भदौ ३ गते दुई जना बिज्याइँकर्ता (बालबन्दी) फरार भए । सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार विद्यालयमा नियमित सञ्चालन हुने बुक फ्री डे र अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुवै जना सुधारगृहको पर्खाल नाघेर फरार भएका हुन् ।
सुनसरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि सुधारगृहमा राखिएका जबर्जस्ती करणीका आरोपित ‘महेन्द्र नगर क्ष’ र कर्तव्य ज्यान तथा डाका कसुरमा १२ वर्ष छ महिना सजाय तोकिएका ‘डक–के–२–१५–भिआई’ को मोरङ प्रहरीले खोजी जारी राखेको छ ।
सुधारगृहमा रहेका बाल बिज्याइँकर्ता भाग्नु उनीहरूको दोष जस्तो देखिए पनि त्योभन्दा ठुलो समस्या राज्यको कानुन कार्यान्वयनको देखिएको छ । उक्त सुधारगृहको क्षमता ५० जनाको मात्र हो तर त्यहाँ २३८ जना बालबिज्याइँकर्ता राखिएका छन् । त्यसभन्दा पनि अर्को विडम्बना १२४ जना त त्यसरी अन्य बालबालिकासँगै बाल सुधारगृहमा राख्नै नहुने छन् ।
कानुन अनुसार १८ वर्ष नाघेका बालबिज्याइँकर्ता बालिग भइसक्छन् र तिनीहरूलाई अन्य बालबालिका रहेका स्थानमा राख्न मिल्दैन तर चौहानका अनुसार सो सुधारगृहमा १८ वर्ष नाघिसकेका १२४ जना बालबिज्याइँकर्ता अन्यन्त्र स्थानान्तरण नगर्दा बेला बेलामा भाग्नेलगायतका अन्य थप आपराधिक घटना हुने गर्छन् ।
त्यस्तै घटना बाँकेको जयन्दु बाल सुधारगृहमा पनि भयो । गत असोज २५ गते उक्त सुधारगृहमा चौकीदार र बालबन्दीहरूबिच झडपका क्रममा भागेका दुई जना भारतीय बालबन्दी अझै फेला परेका छैनन् । फरारमध्ये एक जना जबर्जस्ती करणी र अर्का लागुऔषधका कसुरमा दोषी ठहर भएका हुन् ।
१२० क्षमताको सो सुधारगृहमा पनि क्षमताभन्दा बढी बालबालिका कोचिएको छ । त्यहाँ हाल २६६ जना १४ देखि ३० वर्षसम्मका बालबन्दी रहेको सुधारगृह प्रमुख विमला काउचामगर बताउनुहुन्छ । सुधारगृहको कमजोर सुरक्षा व्यवस्था, पुरानो भौतिक तथा जीर्ण बन्दै भौतिक संरचना र सुधारगृहमा बालबन्दीको खचाखच चापले बेला बेला बालबन्दीहरू सुधारगृहको पर्खाल र तारबार नाघेर फरार हुने गरेका छन् ।
गृह मन्त्रालयको सुरक्षा व्यवस्था र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको व्यवस्थापनमा देशका नौ स्थानमा सञ्चालन भएका बाल सुधारगृहमा बालबन्दीको भिड लाग्दा झडपसँगै तारबार नाघेर बालबन्दी भाग्ने गरेका छन् । मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले कैदीबन्दीको चाप र उमेर पुगेका कैदीबन्दीको स्थानान्तरण हुन नसक्दा व्यवस्थापन र सुरक्षामा समेत बेला बेला समस्या देखिने गरेको छ ।
देशभरका बाल सुधारगृहमा कैदी बन्दीको चाप बढ्दो क्रममा छ । सुधारगृहको भौतिक पूर्वाधार विस्तार बालबन्दीको सङ्ख्याको तुलनामा साँगुरो बन्दै जाँदा बालबन्दी व्यवस्थापनमा नै समस्या सिर्जना हुने गरेको छ ।
सबै बालबिज्याइँकर्ता एकै ठाउँमा
गम्भीर र सामान्य अपराधका अभियुक्त एकै स्थानमा राख्दा पनि समस्या हुने गरेको छ । बालगृहहरूमा रहेका बालबिज्याइँमा सबैभन्दा बढी जबर्जस्ती करणीका र त्यसपछि कर्तव्य ज्यानका छन् । समग्र विवरण अनुसार नौ वटा बाल सुधारगृहमा जबर्जस्ती करणी कसुरका बालबन्दी ७६०, कर्तव्य ज्यान कसुरका ९४ र अन्य बालबन्दीको सङ्ख्या ३५९ छ । अन्यमा एसिड, अङ्गभङ्ग, चोरी नकवजनी, डाका, सवारी ज्यान, हतियार खरखजाना, विद्युतीय कारोबार कसुर, बालयौन शोषण, लागुऔषध, अप्राकृतिक मैथुनलगायतका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ५० जना क्षमताको मोरङ बाल सुधारगृहमा २३८ जना बालबन्दी छन् । जसमध्ये १५१ जना जबर्जस्ती, नौ जना कर्तव्य ज्यान तथा ७८ जना अन्य कुसुरका छन् ।
६० क्षमताको बाल सुधारगृह वीरगन्ज पर्सामा १२३ जना बालबन्दीमध्ये ५७ जना जबर्जस्ती करणी सात जना कर्तव्य ज्यान तथा ५९ जना अन्य कसुरका छन् ।
६७ क्षमताको बाल सुधारगृह हेटौँडामा ४५ जना जबर्जस्ती करणी, चार जना कर्तव्य ज्यान तथा १८ जना अन्य कसुरका छन् । त्यस्तै २४७ क्षमताको गृह सानोठिमी भक्तपुरको सुधारगृहमा १३६ जना जबर्जस्ती करणी, २६ जना कर्तव्य ज्यान तथा ४० जना बालिका बन्दीसहित ८७ जना अन्य कसुरका आरोपित छन् । १०९ क्षमताको कास्की सराङ्कोटको सुधारगृहमा ५६ जना जबर्जस्ती करणी, १२ जना कर्तव्य ज्यान तथा ४१ जना अन्य कसुरका छन् ।
२६४ बालबन्दी क्षमताको नेपालगन्जस्थित जयन्दु बाल सुधारगृहमा १५७ जना जबर्जस्ती करणी, १४ जना कर्तव्य ज्यान र १४५ जना अन्य कुसुरका बालबन्दी छन् । बाँकेकै नौवस्ता गृहमा रहेका १२३ जनामध्ये ६९ जना जबर्जस्ती करणी, छ जना कर्तव्य ज्यान तथा ४८ जना अन्य कसुरका छन् । १२३ क्षमताको रूपन्देहीस्थित भैरहवा बालसुधार गृहमा रहेकामध्ये ५० जना जबर्जस्ती करणी, ११ जना कर्तव्य ज्यान र ६२ जना अन्य कसुरका, डोटीको सुधारगृहमा रहेका ५३ मध्ये ३९ जबर्जस्ती करणीका पाँच कर्तव्य ज्यान तथा नौ जना अन्य बालबन्दी छन् ।
यस्ता अपराधमा लागेका किशोर किशोरीलाई सुधारगृहका नाममा बन्द कोठामा राखेर सजाय दिनुभन्दा यौन शिक्षाबारे विद्यालय स्तरमा खुला छलफल र अध्यापनसँगै लक्षित समूहमा यौन शिक्षाबारे विशेष सचेतना अभियान सञ्चालन गर्न सके यस्ता घटनामा कमी आउने प्रधानले बताउनुभयो ।
यौन शिक्षा आवश्यक
यस वर्गीकरणले मुख्य रूपमा बालबिज्याइँ यौनसँग जोडिएको स्पष्ट पार्दछ । उनीहरू १८ वर्ष उमेर पुग्दा यौनको मामिलामा अझ सक्रिय बन्छन् । यस्तो अवस्थामा बन्द कोठामा थुनेर राख्नुभन्दा सुधार हुनका लागि यौन शिक्षा दिनु महत्वपूर्ण रहेको बाल अधिकारका क्षेत्रमा कार्यरत विज्ञको भनाइ छ । बालबालिका अधिकार अभियन्ता गौरी प्रधान किशोर अवस्थामा प्रवेश गरेपछि बालबालिकामा आउने शारीरिक र मानसिक रूपान्तरणसँगै यौन तथा प्रजनन सचेतना र शिक्षा दिनु अत्यन्तै महìवपूर्ण हुने र त्यो विद्यालय शिक्षाबाटै थाल्नुपर्ने बताउनुहुन्छ ।
उहाँले विद्यालय शिक्षाको पाठ्यक्रममा भर्खर भर्खर यौन तथा प्रजनन शिक्षाको विषय समावेश भए पनि खुला रूपमा अझै पनि विद्यालयमा शिक्षक र विद्यार्थीबिच यौन शिक्षाबारे अध्ययन र छलफल हुन नसक्दा यस्ता घटना वृद्धि हुँदै गएको विभिन्न अध्ययनले समेत पुष्टि गरेको दाबी गर्नुभयो ।
प्रधानले बालबालिकामा आउने शारीरिक तथा यौन विकासलाई घर, समाज र विद्यालयमा समेत खुला रूपमा छलफल नगरी गोप्य राख्ने प्रवृत्तिका कारण बालबालिका लुकिछिपी यस्ता गतिविधिमा लाग्ने गरेको घटनाक्रमले पनि देखाएको बताउनुभयो ।