• २९ भदौ २०८१, शनिबार

ठिकठाक ‘स्त्री २’

blog

काठमाडौँ, भदौ १८ गते । छ वर्षअघि २०१८ मा प्रदर्शन भएको चलचित्र ‘स्त्री’ र २०२४ मा प्रदर्शनमा आएको ‘स्त्री २’ खासै भिन्नता देखिँदैन । पहिलो स्त्रीमा नायिकाले गाउँलाई तर्साइरहेकी थिइन् । यस पटक एउटा टाउको काटिएको आदमखोर जस्तो मान्छेले गाउँलेलाई त्रसित बनाइरहेको छ । अमर कौशिक निर्देशित यी दुवै चलचित्रमा कलाकार पनि खासै फेरिएका छैनन् । राजकुमार राव, श्रद्धा कपुर, अभिषेक बनर्जी, अपारशक्ति खुराना र पङ्कज त्रिपाठी पुरानै अनुहार हुन् । अहिलेको कथामा गाउँलाई आतङ्कित बनाउन एउटा पात्रलाई उभ्याइएको छ र चलचित्र त्यही पात्र वरपर घुम्छ । 

पहिलो भागमा महिलाको बिदाइ भएको थियो । यसमा चन्देरीका गाउँलेबाट एउटा गल्ती भएको देखाइन्छ । पहिलो भागको कथामा महिला भुतले गाउँमा पुरुषलाई खोज्ने गर्थे । यसमा चन्देरीमा टाउको काटिएको भुतबाट युवती शोषणको सिकार हुने गरेका छन् । यस पटक चलचित्रमा भयानक टाउको काटिएको पात्रको कथामा चलचित्र बनेको छ । टाउको काटिएका भयानक मान्छेको अन्त्य कसरी हुन्छ ? नायिका कपुरले कसरी बिक्की एन्ड कम्पनीलाई मद्दत गर्छिन् ? यी प्रश्नको जवाफ खोज्ने क्रममा चलचित्रको कथा अनेकन मोडमा घुमाइन्छ । 

यति हुँदाहुँदै पनि चलचित्रमा दर्शकलाई मनोरञ्जन दिनका निम्ति हाँसो र हररको रमाइलो मिश्रण मिसाइएको छ । मध्यान्तरसम्म चलचित्रले खासै गति समात्न नसके पनि हाँसो र हाफ बिक्की र कम्पनीको गतिविधिले दर्शकलाई गुदगुदी बनाउँछ । मध्यान्तरपछि अमर कौशिक केही अलमलमा पर्छन् । निर्देशक कौशिकले आफ्नो निर्देशनमा पूर्ण रूपमा उत्कृष्टता देखाएका छन् । कथाको सुरुवात अलि आतङ्कित लागे पनि चलचित्र अघि बढ्दै जाँदा यसले दर्शकलाई आफ्नो डरलाग्दो र रहस्यमय वातावरणमा तान्छ । लेखक निरेन भट्टले कथामा पितृसत्ताविरुद्ध गहिरो सन्देश दिएका छन्, जसले मनोरञ्जनका बिचमा सोच्न बाध्य पार्छ ।

‘स्त्री’ बाट आफ्नो छुट्टै पहिचान बनाएकी श्रद्धा कपुर चलचित्रको मुख्य आकर्षण हुन् । उनको उपस्थितिले चलचित्रको हरेक दृश्यलाई अझ राम्रो बनाएको छ । राजकुमार रावले बिक्कीको चरित्रलाई नयाँ शैलीमा प्रस्तुत गरेका छन्, जसले उनको करियरमा अर्को सफलता थपेको छ । अपारशक्ति खुराना र अभिषेक बनर्जीले आफ्नो भूमिकामा जीवन्तता ल्याएका छन्, जबकि पङ्कज त्रिपाठीको परिचित शैलीले दर्शकलाई व्यस्त बनाउँछ । वरुण धवन र अक्षय कुमारको छोटो अभिनयले चलचित्रको ठुलै रहस्यलाई उजागर गराउँछ, जसले चलचित्रको कथालाई अझ रोमाञ्चक बनाउने काम गरेको छ ।