• ६ जेठ २०८१, आइतबार

सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

blog

बाबुराम देवकोटा
सिन्धुलीमाढी, वैशाख २६ गते ।
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहको प्रमुख–उपप्रमुखमा सत्तारुढ गढबन्धन र नेकपा एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लाका नौ वटा पालिकाको प्रमुख–उपप्रमुखमा सत्तारुढ गठबन्धनका दलमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भागबण्डा गरी उम्मेदवार उठाएका छन् । नेकपा एमालेले भने सबै पालिकाको प्रमुख–उपप्रमुखमा एकले उम्मेदवार उठाएका छन् । जिल्लामा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न गठबन्धनका दल र नेकपा एमालेका उम्मेदवार, नेता तथा कार्यकता घरदैलो अभियान, कोण सभा र व्यक्तिगत भेटघाटलाई तीव्र बनाएका छन् ।

त्यसोत, कांग्रेसले प्रमुख पाएको कमलामाई नगरपालिका, घ्याङलेख गाँउपालिका, फिक्कल गाँउपालिका, गोलन्जोर गाँउपालिका र तीनपाटन गाँउपालिकामा उपप्रमुख पद नेकपा (माओवादी केन्द्र)ले पाएका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले प्रमुख पद पाएको दुधौली नगरपालिका, मरिण गाँउपालिका, सुनकोसी गाँउपालिका र हरिहरपुरगढी गाँउपालिकामा उपप्रमुख कांग्रेसले पाएको छ । 

जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकाको निर्वाचनलाई सबैले प्रतिष्ठाको विषय बनाएका छन् । कमलामाई नगरपालिकामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोख्रेल प्रमुख पदमा उठ्नु भएको छ । यहाँ उपप्रमुखमा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठ उठ्नु भएको छ ।

त्यस्तै, कमलामाई नगरपालिकामा नेकपा एमालेबाट नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ प्रमुखमा र निवर्तमान उपप्रमुखमा मञ्जु देवकोटा पुनः उमप्रमुखमा उठ्नु भएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार पोख्रेल यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार खड्गबहादुर खत्रीसँग झण्डै तीन हजार मतको अन्तरले पराजित बन्नु भएको थियो । यस पटक दुई वटा ठूला दलबीच गठबन्धन भएकोले पनि आफु प्रमुखमा विजयी बन्नेमा गठबन्धनका उम्मेदवार पोख्रेल ढुक्क हुनुहुन्छ ।

उहाँले आफु प्रमुखमा निर्वाचित भएपछि नगरपालिकाले लगाउँदै आएको सबै खाले करमा ५० प्रतिशत छुट गर्ने, एक घर एक धारा निर्माण गरी सफा पिउने पानी वितरण गर्ने, प्रत्येक वडामा वर्षको पाँच किलोमिटर सडक कालो पत्रे गर्ने, किसानलाई बीउ बिजन मल सम्बन्धित वडाबाट वितरण गर्ने, ज्येष्ठ नागरिकहरुलाई निःशुल्क टोल टोलमा नियमित स्वास्थ जाँच गर्ने, प्रादेशिक रङ्गशाला निर्माण गर्नेलगायतका प्रतिबद्धता सार्वजनिक गरेको बताउनुभयो ।

कमलामाई नगरपालिकामा नै नेकपा एमालेका प्रमुख पदका उम्मेदवार महेन्द्रदेव श्रेष्ठ कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनसँग सामना गरी विजयी हुने बताउनुहुन्छ । उहाँले आफूसँग नगरपालिकालाई समृद्ध बनाउने योजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘म कसैलाई पराजित गर्नका लागि मात्र उम्मेदवार बनेको हैन । म कमलामाई नगरपालिकालाई देश कै नमुना नगरपालिकाको रूपमा विकास गर्न र नगरमा विकासको लहर ल्याई समृद्ध नगरपालिका बनाउने सङकल्प सहित मेयर पदको उम्मेदवार बनेको हुँ ।’’

एक घर परिवारले १० हजार लिटर बराबरको पानी निःशुल्क पाउने, स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने, निर्वाचित भएको एक वर्षमा सिन्धुलीमा ट्रमा सेन्टर स्थापना गर्ने, सिन्धुली अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था गर्ने, सबै वडामा भएका र रोकिएका विकासका योजनाहरूलाई दिने आफ्ना चुनावी योजना रहेको उहाँले बताउनुभयो ।

स्थानीय तहको चुनावी प्रतिस्पर्धामा मैदानमा उत्रेका उम्मेदवारहरु मध्ये नौ जना पालिका प्रमुख पदका लागि ५२ जना र नौ वटा पालिका उपप्रमुख पदका लागि २८ जना रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपा, नेपाली कांग्रेस (बी.पी), राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य साना राजनीतिक दल र स्वतन्त्रसहित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।