• १६ चैत २०८०, शुक्रबार

चित्रकार र पल्पसाको प्रेम ‘पल्पसा क्याफे’

blog

सुकृत नेपाल

काठमाडौँ, वैशाख २६ गते । नाटकको सुरुवातमा कलाकारहरूले बेलुनलाई माया गर्दै मुसारी रहन्छन् । लाग्छ बेलुनले केही प्रतिक्रिया जनाउँदै छ । बेलुनसँगै बम पड्कन थाल्छन् । अनि सुरु हुन्छ झुस्स दारी पालेका अग्लो कदको एउटा केटो र पल्पसाको सवाद । चित्रकारलाई सबैकुरा थाहा छ । ऊ प्रेमिल गफ गर्छ, केही बेर राजनीतिका कुरा पनि गर्छ । पल्पसा चित्रकारका फ्यान हुन्छिन् । उनी वृत्तचित्र बनाएर आफ्नो देशको कथा भन्न चाहन्छिन् तर उनलाई धेरै कुराले  बाधिरहेको भान हुन्छ । 

चित्रकार पल्पसासँगको केही क्षणको संवाद पछि पुरानो कला संस्कृतिका सन्दर्भ पुस्तक खोज्दै उनी हजुर आमाकहाँ पुग्छन् । सकिनसकी धागोहरू मिलाउन व्यस्त हजुरआमालाई उनी पनि सघाउन लाग्छन् । दुवैबीच सामान्य भलाकुसारी सुरु हुन्छ । हजुरआमाले सोध्छिन् ‘तिमी नी कसैलाई पर्खेर बसेका हौँ र चित्रकारले भन्छन् म यहाँ पुस्तक खोज्दै आएको हुँ ।’ 

सशस्त्र युद्धमा होमिएका सिद्धार्थ (दीपेश राई)ले युद्धमा लिएर गएपछि चित्रकारले नजिकबाट देखेको युद्धको वरपर उपन्यासलाई कथामा बुनिएको छ । बूढी हजुरआमा (सङ्गीता थापा)सँग गफ गरेको समय होस् अथवा बाटामा भेटिएकी सानी फुच्ची (पूर्णिमा आचार्य)सँगको संवाद चित्रकारको अभिनयलाई दर्शकले कतै भुल्न सक्दैनन् । उनी हरेक ठाउँमा सुहाएका छन् । सुन्न मज्जा आउने लामो संवाद र बीचबीचमा गीतको धुनले पनि नाटकलाई अझ मधुर बनाएको छ । हजुरआमाको भूमिकामा देखिनुएकी कलाकार सङ्गीता थापाको अभिनयलाई बेजोड नै भन्नुपर्छ । छोटा केही दृश्यबाट उहाँले दर्शक मन जित्नुहुन्छ । 

पल्पसाको भूमिकामा सृष्टि श्रेष्ठलाई एकदमै सुहाएको छ । हो, उहाँको बोल्ने शैली र बडी मुभमेन्ट नयाँ छैन । उहाँको चलचित्र हेरेको दर्शकले यो सजिलै ठम्याउन सक्छन् कि उहाँले चलचित्र र नाटकमा गरेको अभिनयमा खासै भिन्नता छैन तर निर्देशकले उहाँलाई भरपूर भूमिका दिनुभएको छ । निर्देशककै कारणले गर्दा यस पटक दर्शकले अवश्य नै सृष्टिको चरित्रलाई मन पराउने छन् । 

सिद्धार्थको चरित्रमा देखिएका (दीपेश राई)लाई कमान्डरको भूमिका एकदमै सुहाएको छ । गाउँगाउँमा माओवादीले सके लोभ्याएर नसके धम्क्याएर भए पनि स्कुले बालबालिकालाई युद्धमा लिएर गएका थिए, त्यही युद्ध देखेका दर्शकलाई सिद्धार्थले अतीतमा फर्काउने काम गरेका छन् । माओवादीले गरेको विद्रोह नदेखेकाहरूलाई नाटक एकदमै उपयुक्त छ ।

विमल सुवेदीको निर्देशन रहेको नाटक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को नाट्य रूपान्तरण सुरज सुवेदीले गरेका हुन् । विमल सुवेदी आफैँले अभिनयसमेत गरेको नाटकमा सृष्टि श्रेष्ठ, दीपेश राई, सङ्गीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह रानालगायतका कलाकारको अभिनय छ ।

‘सङ्कटकाल छ, आफ्नो ज्यान आफैँ जोगाउनूस् है’ भन्दै सुरु हुने नाटकले सरकार–माओवादीबीच चलेको १० वर्षे युद्धको कथा भन्छ । हराएका परिवारका सदस्यलाई पर्खी बस्ने हजुरआमामार्फत लास र सास दुवै नदिने राज्यलाई नाटकले चोटिलो प्रहार गरेको छ ।