• १६ भदौ २०८१, आइतबार

फिरन्ते हात्तीको त्रासले निदाउँदैनन् स्थानीय

blog

बाबुराम कार्की

वराहक्षेत्र, भदौ १४ गते । चारकोसे जङ्गलकोे उत्तरी गाउँ चतरा पुनरबासको आसपास क्षेत्रमा फिरन्ते जङ्गली हात्तीले दुःख दिँदा स्थानीय रातभर निदाउन पाउँदैनन् । चारकोसे जङ्गलमा बसेर साँझपख ३० वटा हात्तीको समूह गाउँमा पस्दा स्थानीयकोे अन्न, बालीनाली मात्रै नास गरेको छैन, घरै भत्काइदिएर दुःख दिने गरेको पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराईले बताउनुभयो । वराहक्षेत्र–२, पुनरबासका पूर्ववडाध्यक्ष भट्टराई एक हप्तादेखि राति सुत्नै छोडेको बताउनुभएको । प्रत्येक रात टर्चलाइट बोकेर हात्ती धपाउनु उहाँको चर्या बनेको छ । उहाँ जस्तै पुनरबास क्षेत्रका स्थानीय पनि हात्ती धपाउनमा नै रात बित्ने गरेको बताउँछन् । 

भट्टराईले भन्नुभयो, “हात्ती बथानले गाउँमा क्षति नपु-याओस् भनेर रातभर जागा बस्ने गरेका छाँै । घर घरबाट लाइट बोकेर हात्ती धपाउन आउनु पर्छ । धेरै रात त जङ्गल र बस्तीको सिमानामै बसेर रुङ्ने गरेका छौँ । हामीसँग हात्ती खेदाउने साधन छैन, कतैबाट सहयोग पनि आउँदैन ।” 

साउनदेखि यता अहिलेसम्म एक सयभन्दा बढी घरपरिवारले क्षतिपूर्तिका लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई सिफारिस गरिदिन वराहक्षेत्र–२ को वडा कार्यालयमा निवेदन दिएकोे वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिनुभयो । 

भदौ १२ गते राति आएका हात्तीको समूहले वराहक्षेत्र–२, पुनरबासका चन्द्रबहादुर मगरको घरमा क्षति पु-याएको छ । चतराकै हाटखोलाकी सरस्वती प्याकुरेलको घरमा राखेको भकारीको नौ मन धान खाइदिएर र छरेर नष्ट गरिदिएको छ । ज्यानै मार्ला भन्ने त्रास, कहिले अन्नपात खाइदिएर दुःख दिने गरेको वडाध्यक्ष गौतमले बताउनुभयो । 

आसाम हुँदै झापाको बाहुनडाँगीबाट हात्ती आहारा र वासस्थानकै खोजीमा हिँड्दा बर्सेनि झापा, मोरङ, सुनसरी, उदयपुर र सप्तरीलगायतका तराईका जिल्लामा क्षति पु-याउने गरेको हिमालयन नेचर संस्थामा कार्यरत संरक्षणकर्मी विमल तिम्सिना बताउनुहुन्छ । हात्तीले दुःख दिइरहेको स्थानहरूमा ‘सोलार फेन्सिङ’ पनि छैन । हात्तीलाई गाउँ पस्न सहज भएकाले पछिल्ला केही वर्षदेखि चतरा आसपासका गाउँमा हात्तीले दुःख दिँदै आएको छ । हात्ती गाउँमा छिरेकोे सूचना पाउनासाथ नगरपालिकाबाट नगर प्रहरीसहित सुरक्षाकर्मीलगायत स्थानीयवासीले हात्ती  धपाउने काम गर्दै आएका छन् ।