• ७ वैशाख २०८१, शुक्रबार

योगदानकर्ताको खातामा रकम जम्मा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २६ गते । सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको खातामा एक अर्ब छ करोड रुपियाँ जम्मा गरिदिएको छ । गत जेठ र असार महिनाको योगदानबापतको रकममध्ये ८४ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो । 

कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदानबापतको एक अर्ब ४८ करोड रुपियाँ भएकामा एक अर्ब छ करोड रुपियाँ योगदानकर्ताको खातामा जम्मा भइसकेको कोषले जनाएको छ । सरकारले घोषणा गरेको रकममा अझै ४२ करोड रुपियाँ निकास हुन बाँकी रहेको छ । 

कोषका निर्देशक विवेक पन्थीले आएको बजेट योगदानकर्ताको खातामा जम्मा गरिसकेको र बाँकी १६ प्रतिशत रकम अर्थ मन्त्रालयबाट निकासा हुुनेबित्तिकै जम्मा गरिदिने जानकारी दिनुुभयो । सरकारले कोषमा सूचीकृत श्रमिकको गत जेठ र असारको सामाजिक सुरक्षाबापतको रकम भुक्तानी गर्ने घोषणा गरेको थियो । दोस्रो चरणको कोभिड सङ्क्रमणका कारण समस्यामा परेका श्रमिक तथा रोजगारदातालाई पनि राहत हुनेगरी सरकारले दुई महिनाको योगदान रकम भुक्तानी गरिदिने निर्णय गरेको हो । 

गत जेठमा सार्वजनिक गरिएको बजेटमा श्रमिकले योगदान गर्नुपर्ने ११ प्रतिशत र रोजगारदाताले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम सरकारले भुक्तानी गर्ने घोषणा गरिएको थियो । उक्त समयसम्म कोषमा सूचीकृतमध्ये नियमित योगदान गर्ने एक लाख ७५ हजारलाई सरकारले जेठ र असारको योगदान रकम राहतस्वरूप सरकारले भुक्तानी गर्ने घोषणा गरेको थियो । 

कोषमा श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत (११ प्रतिशत श्रमिकका तर्फबाट र २० प्रतिशत रोजगारदाताका तर्फबाट) मासिक जम्मा गर्नुपर्छ । जम्मा भएको ३१ प्रतिशत रकम विभिन्न योजनाअन्तर्गत बाँडफाँट हुन्छ । 

योगदान रकमको सबभन्दा बढी हिस्सा २८ दशमलव ३३ प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुन्छ । जसमध्ये २० प्रतिशत रकम निवृत्तिभरण (पेन्सन) योजनाअन्तर्गत रहन्छ भने बाँकी ८ दशमलव ३३ प्रतिशत अवकाश योजनामा जम्मा हुन्छ । त्यस्तै १ दशमलव ४ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत जम्मा हुन्छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाका लागि १ प्रतिशत र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ०.२७ प्रतिशत रकम जम्मा हुन्छ ।

हालसम्म कोषमा तीन लाख ३२ हजार ५९ श्रमिक सूचीकृत भएका छन् । त्यस्तै १७ हजार ७९ रोजगारदाता जोडिएका छन् । कोषमा १६ अर्ब ३४ करोड रुपियाँ योगदान रकम जम्मा भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत एक अर्ब १५ करोड ६५ लाख रुपियाँ दाबी भुक्तानी गरेको छ, जसमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधाबापत १६ करोड ७७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षाबापत एक करोड ५६ लाख, आश्रित परिवार सुरक्षाबापत दुई करोड ७५ लाख र अवकाश दाबीबापत ९४ करोड ५६ लाख रुपियाँ दाबी भुक्तानी गरिएको छ । 

कोषले रकम निकासाका लागि गत असारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत अर्थ मन्त्रालयसमक्ष दाबी निवेदन पेस गरेको थियो । उक्त दाबी निवेदनको ११ महिनापछि सुनुवाइ गर्दै अर्थ मन्त्रालयबाट सो रकम निकासा भएको जनाइएको छ ।