• १३ भदौ २०८१, बिहिबार

पार्टी फुट्ने कुरा वाहियात हो : प्रचण्ड

blog

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डसहित माओवादी नेता । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ १३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र फुट्ने कुरा वाहियात रहेको बताउनुभएको छ । 

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनका उहाँले आफ्नो पार्टी एकताबद्ध रहेको र आगामी दिनमा पनि एकताबद्ध नै रहने उल्लेख गर्नुभयो । पार्टी फुट्ने कुरा निराधार रहेको निर्णयसहित स्थायी कमिटी बैठकले यसलाई खारेज गरिसकेको प्रचण्डको भनाइ थियो । उहाँले भन्नुभयो,“अहिले माओवादी पार्टी एकताबद्ध मात्रै नभई बाहिर रहेको सबै माओवादी, समाजवादी मोर्चा र अन्य क्रान्तिकारीसँग पनि एउटै पार्टी बनाउने बारे छलफल चलाइ रहेको छ ।” माओवादी केन्द्र अझ सशक्त ढङ्गले अगाडि बढ्ने उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व परिवर्तनको कुरा पनि कसैले नगरेको जिकिर गर्नु भएको छ । नेतृत्व परिवर्तनको भ्रममा नपर्न आग्रह गर्दै उहाँले थप्नुभयो,“त्यसैले मैले भन्ने गरेको छु, टेन्सन हामीलाई होइन । टेन्सन बाहिर पत्रकारहरूलाई भएको छ ।”

जनार्दन शर्मा ‘प्रभाकर’ लाई लिएर नेतृत्व परिवर्तनको विषयबारे पत्रकारले जिज्ञासा राख्ने गरेको भन्दै प्रचण्डले थप्नुभयो,“प्रभाकरले त नेतृत्वलाई अझ माथि लानु पर्‍यो पो भन्नु भएको छ ।”

पूर्व प्रधानमन्त्रीसमेत रहनू भएका उहाँले संविधान संशोधनको कुरा आइरहेका कारण दुई तिहाइको आडमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधानमा घात गर्ने  आशङ्का पैदा भएको बताउनुभयो । “समावेशी, समानुपातिक भन्दै धेरै सङ्घर्ष र मिहिनेतबाट माओवादीले नेपालका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम सबैको अधिकार सुनिश्चित गरेको उहाँहरूलाई मन पर्‍या छैन”, प्रचण्डले भन्नुभयो,“२०७२ को संविधान हेर्दा उहाँहरूले जताततै माओवादी देख्नुहुन्छ । त्यसैले माओवादीलाई कसरी ठिक गर्ने भन्ने उहाँहरूको चिन्ता छ ।”

सत्तारुढ दलहरूलाई सुध्रिन र राम्रो गर्न सुझाव दिँदै प्रचण्डले भन्नुभयो,“तपाईँहरूले राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौँ । दुई तिहाइको घमन्ड गर्नुभयो भने बङ्गलादेश र श्रीलङ्का सम्झनु होला भनेर अस्ति सम्झाएको मात्रै छु । उहाँहरूले अलि बढी नै गर्नुभयो भने हामी सडकमा उत्रिन्छौँ ।”

पालिर्यामेन्ट्री सिस्टममा पहिलो र दोस्रो पार्टी कहीँ पनि नमिलेको उल्लेख गर्नुहुँदै प्रचण्डले माओवादीसँग डराएर यहाँ दुई ठुला प्रतिस्पर्धी पार्टी मिलेको दाबी गर्नुभयो । कहीँ नहुने काम कांग्रेस, एमालेले गरेको जिकिर गर्नुहुँदै उहाँले अगाडि थप्नुभयो,“बाहिर निस्किँदै गर्दा बडो उच्च मनोबलका साथ हामी विजेताको रूपमा निस्क्यौँ । कांग्रेस र एमाले ठुलठुला पार्टी मिल्दा असाध्यै रक्षात्मक तरिकाले बडो डराई डराई मिल्नु भएको छ ।”