• १६ भदौ २०८१, आइतबार

सेतो पुतलीबाट बच्न मन्त्रालयको आग्रह

blog

काठमाडौँ, भदौ १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सेतो पुतलीबाट शापू रोग लाग्नबाट बच्न आग्रह गरेको छ ।मन्त्रालयले सूचना निकाल्दै सेतो पुतलीले आँखामा शापू रागे लाग्ने हुँदा सावधान रहन आग्रह गरेको हो ।

चिकित्सकका अनुसार शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ । यो रोगको लक्षणहरू देखापरेको ४८ देखि ७२ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा समूहलाई देखिएपनि विशेषगरी बालबालिकामा बढी जोखिममा पर्ने गर्दछन् । 

हालसम्म सेतो पुतली–मोथलाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखा दुख्नु, उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु, आँखाको दृष्टिमा तत्काल कमी हुने जस्ता लक्षण देखिने गर्छ ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । यदि उपचारमा ढिलाइ गरेमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ । यस्तो भएमा आफूखुसी औषधी वा जडीबुटीको प्रयोग नगर्न मन्त्रालयको आग्रह छ । यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जान मन्त्रालयको सुझाव छ ।

। यो रोगबाट बच्न सेतो पुतलीको संसर्गबाट टाढै रहने, धेरै उज्यालो सेतो बत्ती नबाल्ने,साँझ र राति झ्याल ढोकामा जाली हाल्ने, सुन्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने ।