• ७ जेठ २०८१, सोमबार

निर्वाचन आयोगले खटायो अनुगमन टोली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २६ गते   स्थानीय तह निर्वाचनका लागि तुलनात्मक रूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ । आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको जनाएको छ । 

टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ । खटाइएका टोलीका लागि आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताउनुभयो । 

उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह पूर्वाग्रह नराखी ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुभयो । 

उहाँले आचारसंहिताविपरीत दल र उम्मेदवारले झन्डा, गाडी प्रयोग गरेमा, अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गर्नुभयो । स्वतन्त्र उम्मेदवारले अमूक दलको झन्डा प्रदर्शन गर्ने, एक उम्मेदवारलाई प्रयोग गर्न दिइएको गाडी अर्काे उम्मेदवारले प्रयोग गर्ने, मतदातालाई धम्की वा आश्वासनको प्रभावमा पार्ने कामहरू पनि भइरहेकाले निर्ममतापूर्वक कारबाही गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले मतदाताको निर्बाध मत खसाल्न पाउने अधिकारलाई सुनिश्चित गर्नु आयोगको दायित्व भएकाले मतदान वा मतगणना बिथोल्ने प्रवृत्ति देखिएमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत निकायसँग समन्वय गरी स्थितिलाई सामान्य तुल्याउन, सहजीकरण र समन्वय गर्न टोलीलाई आग्रह गर्नुभयो ।