• ४ जेठ २०८१, शुक्रबार

बुद्धजयन्ती भव्य रूपमा मनाइने

blog

बुद्धजयन्तीबारे जानकारी दिन आयोजित पत्रकार अन्तक्र्रिया । तस्बिर :कपिल ज्ञवाली

रुपन्देही समाचारदाता

सिद्धार्थनगर, वैशाख २६ गते । लुम्बिनी विकास कोषले २५६६औँ बुद्धजयन्ती भव्यतासाथ मनाउने भएको छ । आइतबार लुम्बिनीमा कोषले आयोजना गरेको पत्रकार अन्तत्र्रिmया कार्यक्रममा बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती र लुम्बिनी दिवस भव्य रूपमा मनाउने जनाएको छ ।

बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धजयन्तीको औपचारिक कार्यक्रम जेठ १ देखि ४ सम्म मनाइने कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यसअन्तर्गत विभिन्न उपसमिति क्रियाशील रहेको शाक्यले बताउनुभयो ।

सदस्यसचिव शाक्यका अनुसार कोरोना महामारीको प्रभाव न्यून हँुदै गएको यस अवस्थामा यस वर्षको बुद्धजयन्तीलाई विशेष रूपमा मनाउने लुम्बिनी विकास कोषले निर्णय गरेको छ । लुम्बिनीमा निर्माण सम्पन्न भएको पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको बुद्धजयन्तीकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

२५६६औँ बुद्धजयन्तीकै अवसरमा जेठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन एवं देवदहको भवानीपुरमा बिहान बौद्ध पूजा तथा दीप प्रज्वलन गरी मनाइँदै छ । रामग्राम नवलपरासीमा जेठ १ गते साँझ ४ बजेबाट बौद्ध प्रवचन तथा दीप प्रज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजन दानसम्बन्धी कार्यक्रम छ । जेठ २ गते बिहान ६ बजे मायादेवी परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ, बिहान ७ बजे मायादेवी परिसरदेखि शान्ति दीपसम्म शोभा यात्रा, बिहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हल उद्घाटन गरिनेछ ।

त्यस्तै बिहान १० बजेदेखि इस्ट मोनास्टिक जोनको कम्बोडिया मोनास्ट्री र इस्ट पोन्डमा भोजन दान, दिउँसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६औँ बुद्धजयन्ती समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष समारोह गरी मनाइने शाक्यले बताउनुभयो । यस्तै दिउँसो ५ बजेदेखि सोही हलमा सुरसुधाको साङ्गीतिक कार्यक्रमको प्रस्तुति, साँझ लुम्बिनीको मायादेवी परिसरमा दीप प्रज्वलन गरिने कार्यक्रम छ ।

यसैगरी जेठ ३ गते लुम्बिनीदेखि कपिलवस्तुसम्म सिद्धार्थ गौतमको शोभायात्रा, प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नेसम्बन्धी देशविदेशका विज्ञहरूको सहभागितामा दुईदिने तिलौराकोट सम्मेलन रहेको शाक्यले बताउनुभयो । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने खबरले कोषलाई हर्षित बनाएको बताउनुभयो । उहाँले यसको औपचारिक खबर कोषलाई प्राप्त नभए पनि मोदी आउनुभएमा कोषले त्यससम्बन्धी विशेष तयारी गर्ने बताउनुभयो ।