• ११ मंसिर २०८१, मङ्गलबार

मिसाए फोहोर, छुट्याए मोहर

blog

कविराज घिमिरे 

हिले, भदौ १३ गते । फोहोर फाल्ने ठाउँ भन्नेबित्तिकै जताततै फोहोरैफोहोर, दुर्गन्ध, किरा झिँगाले घेरिएको जानै नसकिने ठाउँ जस्तो लाग्न सक्छ । हुन पनि फोहोर व्यवस्थापन केन्द्रको दृश्य प्रायः त्यस्तै नै हुन्छ ।

तर धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा न त फोहोर छरपस्ट छ, न दुर्गन्ध र किरा झिँगाले घेरिएको छ । फोहोर व्यवस्थापन केन्द्रमा फोहोरमाथि सुन्दर बगैँचा छ । वर्षैभरि मौसम अनुसारका फूल फुल्छन् । देशका विभिन्न स्थानबाट फोहोर व्यवस्थापनको तरिका सिक्न बर्सेनि सयौँ व्यक्ति त्यहाँ पुग्छन् । अन्य स्थानमा फोहोरको समस्या विकराल भइरहँदा धनकुटामा यसलाई नवीनतम ढङ्गले व्यवस्थापन गरिएको छ । 

नगरपालिकाका फोहोर व्यवस्थापनतर्फका कर्मचारी प्रत्येक बिहान कुनै न कुनै टोलमा भेटिन्छन् । फोहोर सङ्कलन गर्छन् । बजारनजिकैको फोहोरमैला व्यवस्थापन केन्द्रमा जम्मा गर्छन् । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि २२ कर्मचारी र चार वटा सवारीसाधनको प्रयोग गर्छ । नगरको दुर्गम क्षेत्रबाहेक १० वटा वडाका जाति टोलमा गाडी जाने बाटो छ, सबै स्थानको फोहोर सङ्कलन हुन्छ र व्यवस्थापन हुन्छ । बजार क्षेत्रका कुनै पनि स्थानमा फोहोर देख्न पाइँदैन । सहजै फोहोर व्यवस्थापन हुन्छ ।

धनकुटामा फोहोर व्यवस्थापनको समस्या छैन । फोहोर फालेर दुर्गन्ध र जलाउँदा धुवाँको असर हुन दिइएको छैन । धनकुटाको सल्लेरी वनको बिचमा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र छ । धनकुटा आउने जोकोही पनि फोहोर व्यवस्थापन केन्द्रको फूलबारी पार्कमा जान्छन् । नगरपालिकाले फोहोर फालिएको स्थानलाई फूलबारीमा परिणत गरेर मनोरम बनाएको छ । यहाँ ४५ भन्दा बढी जातका फूल रोपिएको छ । 

नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले २०६६ देखि २०७० सालसम्म जम्मा भएको फोहोर कुहिएर मल बनेपछि यस स्थानलाई फूलबारीका रूपमा विकास गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले फोहोरको डङ्गुर थुप्रिएको थियो अहिले त्यहीँ फूल रोप्यौँ, सुन्दर बगैँचा बन्यो । अहिले धनकुटा आउने र फोहोर व्यवस्थापनको क्षेत्रमा चाख राख्नेहरूको रोजाइमा पर्ने गरेको छ । फोहोरमाथि बनाइएको सुन्दर बगैँचामा बेलाबखत क्लब, समूह र कार्यालय प्रमुखको बैठक सञ्चालन हुने गरेको छ ।”

फोहोरमा कसरी बन्यो बगैँचा ?

३० रोपनी क्षेत्रफलमा २०६६ सालमा निर्माण गरिएको यो व्यवस्थापन केन्द्रमा नगरपालिका क्षेत्रबाट सङ्कलन भएको फोहोरलाई ४५ वर्षसम्म धान्न सक्ने दाबी नगरपालिकाको छ । नगरपालिकाका प्रमुख चिन्तन तामाङले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने मिथेन ग्यास उत्सर्जनरहित यो ल्यान्डफिलले स्वच्छ, सफा र हरित सहर निर्माणमा सहयोग पुगेको दाबी गर्नुभयो । बजारबाट करिब पाँच सय र गाउँबाट करिब १५० मिटरको दुरीमा मात्रै रहेको फोहोर व्यवस्थापन केन्द्रको विषयमा बस्तीबाट हालसम्म कुनै अवरोध तथा गुनासो आएको छैन । 

सुरुमा बस्तीबाट अवरोध नहोस् भनेर दुर्गन्ध कम गर्ने तरिका अपनाएको र सोही कारणले यो अवस्थामा आइपुगेको नगरप्रमुख तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “कुहिने फोहोर घरमै व्यवस्थापन गर्ने र तत्काल नकुहिने नगन्हाउने फोहोर मात्रै सङ्कलन गर्ने गरिएको छ, फोहोर व्यवस्थापनमा सफल हुनुमा धनकुटा नगरपालिकाको प्रयासले मात्र सम्भव भएको होइन, नगरपालिकावासीको समेत उत्तिकै भूमिका र सहयोग छ ।”

यो ल्यान्डफिल साइट बन्नुअघि नगरपालिका क्षेत्रमा जताततै फोहोर थुपार्ने चलन थियो । स्थानीय घुमाउने चौतारा क्षेत्र र बजारकै गोकुण्डे खोलामा जथाभावी थुपारिने फोहोरले बजार क्षेत्रमा समस्या आएपछि जिल्ला सदरमुकामको सल्लेरी वन क्षेत्रभित्र आधुनिक ल्यान्डफिल साइट निर्माण गरिएको हो । यो सबै व्यवस्थापन गर्न धनकुटा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि कर्मचारी, सवारीसाधन तथा केन्द्र व्यवस्थापनमा वार्षिक करिब एक करोड रुपियाँ खर्च गर्दै आएको छ । 

मन्त्रीले हेरे उदाहरणीय काम

धनकुटाको फोहोर व्यवस्थापनको मोडेल हेर्न विभिन्न स्थानबाट जनप्रतिनिधि तथा सङ्घ संस्थाका प्रतिनिधि पुग्ने गरेका छन् । क्लब, सहकारी संस्था, विद्यार्थी, संरक्षणकर्मी तथा वन वातावरणका क्षेत्रमा काम गर्दै आएका समूहले छान्ने, छुट्याउने, सङ्कलन गर्ने कुहाउने विषयमा निजी क्षेत्र र समुदाय परिचालनबारे जानकारी लिने गरेका छन् । वार्षिक तीन सयभन्दा बढी व्यक्ति फोहोर व्यवस्थापन केन्द्रमा आउने गरेको वातावरण शाखा प्रमुख खनालले जानकारी दिनुभयो । 

अहिलेसम्म विभिन्न स्थानीय तहका प्रमुखसहित तत्कालीन गृहमन्त्री हुँदा विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठ, वातावरणमन्त्री हुँदा शक्तिबहादुर बस्नेत, सामान्य प्रशासनमन्त्री हुँदा रेखा शर्मा सो फोहोर व्यवस्थापन केन्द्र अवलोकनका लागि पुग्नुभएको खनालले जानकारी दिनुभयो ।

फोहोर व्यवस्थापनबाट आम्दानी

नगरपालिका क्षेत्रमा दैनिक १६ टन फोहोर सङ्कलन हुन्छ । जसमध्ये यो केन्द्रमा दैनिक १२ टन फोहोर मात्र व्यवस्थापन हुने गरेको छ । अन्य फोहोर स्थानीय बासिन्दाले कम्पोस्ट मल बनाउने गरेका छन् । 

यहाँ सङ्कलन भएको फोहोरलाई नगरपालिकाले व्यापारीमार्फत छानेर छुट्याएको ठोस फोहोरलाई प्रतिकिलो तीन सयदेखि सात सय रुपियाँसम्ममा बिक्री गर्ने गरेको छ । यसरी सङ्कलित फोहोरबाट छुट्याइएका वस्तु बिक्री गरेर नगरपालिकाले वार्षिक एक लाख रुपियाँ आम्दानी गर्दै आएको छ । 

फोहोर व्यवस्थापनकै कारण धनकुटा नगरपालिका २०७३ सालमा सबैभन्दा सफा नगरमा नेपालकै दोस्रो नगर घोषित भयो र नगरपालिकाले सरकारबाट सात लाख रुपियाँ पुरस्कार पायो । त्यस्तै २०७४ सालमा सफा नगरमा नेपालमै प्रथम भयो र १० लाख रुपियाँ पुरस्कार पाएको नगरपालिकाले जनाएको छ । यसबाहेक विभिन्न अन्य पुरस्कार तथा सम्मान नगरपालिकाले पाउने गरेको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्रले फोहोर छानेर पुनःप्रयोग हुने सामान सङ्कलन गरी वार्षिक ४० लाख रुपियाँको बिक्री गर्छ । ठेकेदार कौशल थापाका अनुसार सोही आम्दानीबाट केन्द्रमा थप १५ व्यक्तिले रोजगारी पाएका छन् ।