• ७ जेठ २०८१, सोमबार

स्थानीय निर्वाचन तयारी तीव्र

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, वैशाख २६ गते । स्थानीय तहको निर्वाचनको तयारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले तीव्र पारेको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरमा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई प्रशिक्षण, मतदानका लागि आवश्यक सामग्रीको व्यवस्थापन, सुरक्षाकर्मीको परिचालनलगायतलाई तीव्रता दिइएको हो । 

निर्वाचनमा खटिने कर्मचारीका लागि शुक्रबार मतदानदेखि, मतपत्र र मतपेटिकाको सुरक्षा, मतगणना र मतपरिणाम सार्वजनिक गर्नेलगायत विषयमा प्रशिक्षण दिइएको छ । मकवानपुरका मुख्य निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचन सम्पन्न गर्न मकवानपुरमा एक हजार ७७० कर्मचारी खटिने जानकारी दिनुभयो । 

उहाँले हरेक मतदान केन्द्रमा मतदान अधिकृतले थप तीन जनासम्म स्वयंसेवक राख्न सक्ने बताउँदै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षालगायतका आवश्यक व्यवस्था गरिएको बताउनुभयो । उहाँले पहिलेको जस्तो मतपेटिकामा मतदानपछि लाहाछाप लगाउने नभई मतपेटिकामा अन्तर्राष्ट्रिय मापदण्डको उच्च प्रविधिको सिलबन्दी गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

“मतपेटिका बलियो र पारदर्शी हुने, मतपेटिका प्रयोग गर्ने सिलमा नम्बर उल्लेख हुने र एक पटक मात्र प्रयोगमा ल्याउन सकिने भएकाले दुरुपयोगको सम्भावना छैन,” उहाँले भन्नुभयो, “मतदानपछि मतपेटिका सुरक्षामा गरिने प्रविधिको प्रयोगले निर्वाचनलाई विश्वसनीय बनाउनेछ । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । ढुक्क हुनुहोस् ।”  

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिनेछ । निर्वाचन अवधिभर म्यादी प्रहरी एक हजार चार सय, नेपाल प्रहरी ९०५, सशस्त्र प्रहरी ३५५ र सेना करिब पाँच सय खटाइने भएको छ । मतदान स्थल र मतगणना स्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेना रहनेछन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सदरमुकामबाट टाढा रहेको मतदान स्थलमा खटिने कर्मचारीलाई आइतबार र नजिक रहेका मतदान स्थलका कर्मचारीलाई सोमबार निर्वाचन सामग्रीसहित पठाइने योजना रहेको सुनाउनुभयो ।

मकवानपुरमा यो पटकको स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मतदाता सङ्ख्या तीन लाख ८६ हजार ५८९ पुगेको छ । यस्तै जिल्लामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र रहेका छन् । 

यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर राति ८ बजेपछि मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन र स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै शनिबार रातिबाट अर्को सूचना नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । 

कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न र गराउन राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्दै आचारसंहितामा तोकिएअनुरूपका झन्डालगायतका निर्वाचन प्रचारप्रसारका सामग्री प्रयोग गर्न भनेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले शनिबार सूचना जारी गर्दै साँझ ७ बजेपछि कुनै किसिमका निर्वाचन प्रचारप्रसार कार्य नगर्न आग्रह गर्नुभएको छ ।