• १० भदौ २०८१, सोमबार

होटलमा युवती मृत फेला

blog

राममणि दाहाल
हेटौँडा, भदौ १० गते ।
 हेटौँडा उपमहानगरपालिका-१० स्थित एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । हेटौँडा १० बसपार्कस्थित रत्ना होटलमा हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभर्‍याङकी एलिसा न्यौपानेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ करिब ५ बजे २५/३० को पुरुष र २२/२३ की महिला सोही होटलको २०५ नं.को कोठामा बसेकोमा गएराति नै ९ बजेको समयमा पुरुष कोठाबाट निस्की गएका थिए ।

महिला सोही कोठामा रहेकोमा सोमबार बिहान अबेरसम्म कोठाबाट महिला बाहिर ननिस्किएपछि  होटल सञ्चालक नवीन राना मगरले प्रहरी कार्यालयमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

प्रहरी कार्यालयमा खबरपछि भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले झ्याल  खोली  बाहिरबाट हेर्दा खाटमाथि उत्तानो परी सिरकले मुख छोपिएको अवस्थामा महिलाको शव देखिएको थियो । साथै कोठाको भुईँको विभिन्न स्थानमा रगतको दाग देखिएको र भित्रबाट ढोकामा चुकुल लगाएको अवस्थामा पाइएको थियो । मृतक न्यौपानेका आफन्तले पहिचान गरेको र शव हेटौँडा अस्पतालमा रहेको बताउँदै प्रहरी नायब उपरीक्षक भण्डारीले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको बताउनुभयो ।