• ७ जेठ २०८१, सोमबार

शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउन अध्यक्ष ओलीको अपिल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न गर्न आवश्यक सहयोगका लागि सबैमा अपिल गर्नुभएको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सो अपिल गर्नुभएको हो । 

हाम्रा गाउँ नगरमा सताब्दीयौंदेखि ब्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कूप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलको अन्त्य गर्ने सङ्कल्प एमालेले लिएको जानकारी गराउनुहुँदै अध्यक्ष ओलीले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन आफूहरु लागिपरेको जानकारी दिनुभयो । 

एमालेको मूल ध्येय ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “राष्ट्रिय गन्तव्य तय गरेर सङ्कल्पसाथ अघि बढेमा मात्रै त्यसलाई साकार पार्न सकिन्छ । त्यसका लागि भिजन र भिजन बोक्ने व्यापक, सुदृढ, अनुशासित र गतिशील सङ्गठन चाहिन्छ ।” राष्ट्रिय सङ्कल्पको कार्यान्वयन गर्न र कार्यान्वयनलाई निरन्तरता दिन देशमा भिजनरी र कृतसङ्कल्पित राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । 

“एमालेमा मात्रै राष्ट्रिय आँट, सङ्कल्प र आत्मविश्वास छ । हामी आम नेपाली जनतालाई यस उद्देश्यका लागि गोलबद्ध बनाउन सक्छौं, राष्ट्रिय परिवर्तन र रूपान्तरणको महाअभियानमा विश्वासका साथ अघि बढाउन सक्छौं” पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले थप्नुभयो, “राष्ट्रिय हितहरूको पक्षपोषण गर्न, तिनको दृढ प्रतिरक्षा गर्न र गुमेका चिजहरू पुनः प्राप्त गर्नसक्ने सामथ्र्यवान्, भरपर्दो र जिम्मेवार राष्ट्रिय शक्ति एमाले नै हो ।”

नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको दरिलो एवम् गर्बिलो राष्ट्र बनाउन आफूहरुले चाहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय नभएको बताउनुभयो । “हाम्रो मुख्य ध्येय नेपालको विकास गर्ने हो, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने हो, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने हो” उहाँले भन्नुभयो ।

नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको सशक्त पहरेदारी गर्ने सामथ्र्य एमालेसँग रहेको दावी गर्नुहुँदै अध्यक्ष ओलीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जनताको घर आँगनको सरकारको रुपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । 

एमाले सरकारमा रहँदा नेपालको इतिहासमा पहिलो पटक मुलुकको समग्र विकास निर्माण, सामाजिक सुरक्षा, परिवर्तन र रूपान्तरण, राष्ट्रिय सामथ्र्य र प्रतिष्ठाको अभिबृद्धि लगायतका क्षेत्रमा  युगान्तकारी एवम् गौरवपूर्ण उपलब्धिहरू हासिल भएको उहाँले दावी गर्नुभयो । 

“जनताभन्दा ठूला अरू कोही छैनन् । जनताको सेवा नै हाम्रो मुख्य ध्येय हो । हाम्रो शक्तिको स्रोत नै जनताको शक्ति हो” अध्यक्ष ओलीले थप्नुभयो, “एमालेले स्थानीय तहलाई लोकतन्त्र, विकास, निर्माण र आर्थिक बृद्धिको बलियो आधारस्तम्भ बनाउन चाहेको छ, जनसेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।“